बालश्रम लगाउने हेटौंडाका तीन होटल कारवाहीमा
मकवानपुर । बालबालिकालाई निकृष्ट श्रममा लगाउने हेटौंडाका तीन होटल कारवाहीमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्रमा रहेको होटलले बालबालिकालाई निकृष्ट श्रममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन होटललाई कारवाही गरेको हो ।
कारवाहीमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् । श्रम कार्यालय हेटौंडाका अनुसार होटल धादिङले ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार रुपैयाँ, होटल डाँफेले १५ बर्षीय बालक र गण्डकीले १६ बर्षीया बालिकालाई काममा लगाएको भन्दै ३÷३ हजार रुपैयाँ जरिवाना तिरेका छन् । श्रम कार्यालयको कारबाही पछि उनीहरुले आगामी दिनमा होटलमा बालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
आगामी मंसिर मसान्तसम्म हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीमा रहँदा बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाएको ४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एकजना जन्मदर्ताका आधारमा परिवारमा पुनस्र्थापना भएका छन् भने अन्य तीन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्श सहित परिवारको जिम्मा लगाइएको हो । उपमहानगरको नगर बालअधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसपार्कका बिभिन्न तीन होटलबाट कानुनविपरित श्रममा लगाइएका बालबालिकाको उद्दार गरिएको हो ।
अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक , डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरिएको हो । बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालवालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समूहको हकमा श्रम कार्यालयबाट श्रम अनुमति लिएर प्रयोग गर्न पाउने प्राबधान छ । तर, १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई निकृष्ट श्रममा लगाउन नमिल्ने व्यवस्था रहेको छ । यदी कानुन उल्लंघन गरेमा ३ महिना कैद वा ५० हजार रुपैयाँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।







