प्रदेशका २५ जना महिला शिक्षकलाई हेटौंडामा आत्मरक्षा तालिम
मकवानपुर । बागमती प्रदेशका सामुदायिक विद्यालयका महिला शिक्षकहरुका लागि दिइएको पाँच दिने आत्मरक्षा प्रशिक्षक, प्रशिक्षण तालिम आइतवार हेटौंडामा समापन भएको छ ।
प्रदेशका १५ वटा सामुदायिक विद्यालयका २५ जना महिला शिक्षकहरुका लागि सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्कले प्रदान गरेको पाँच दिने आत्मरक्षा सम्बन्धि तालिम हेटौंडामा समापन भएको हो ।
प्रदेशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयका शिक्षिकाहरुलाई प्रशिक्षक बनाएर उनीहरु मार्फत विद्यार्थीहरुलाई पनि आत्मरक्षा तालिम दिने उदेश्यले तालिम दिइएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सबै कुरा सिक्नुपर्ने स्थान विद्यालय भएकाले भएकाले शिक्षीकाहरुलाई तालिम दिएर प्रशिक्षक बनाइएको बताए । विद्यालयमा सिकाइएको कुरा सबैले सिक्ने भएकाले विद्यालय स्तरमा यो तालिम दिनका लागि प्रशिक्षक तयार गरिएको बताइन्। आत्मरक्षा गर्नका लागि पहिले आत्मबल र शाहस हुनुपर्ने मन्त्री मुक्तानले बताइन् ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले यो तालिम लिएर प्रमाणपत्र लिने मात्र भन्दा पनि परिणाम दिने बताए। अहिले पनि पुरुषको तुलनामा महिला माथी हिंसा हुने भएकाले आत्म रक्षा तालिम दिनुपरेको जनाए । प्रदेशका हरेक जिल्ला युवा समितिले पनि यो तालिम दिने भएकाले समन्वय गरेर प्रशिक्षकको भूमिका निर्बाह गर्न आग्रह गरे ।







