घर–घरमा सामाजिक सुरक्षा भत्ता वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्तालाई सेवाग्राहीको घरमै पुगेर वितरण गरेको छ ।
यस अघि बैंक खाता मार्फत वितरण गरिएको सामाजिक सुरक्षा भत्ता बुधबार लाभग्राहीको घरमै पुगेर वितरण गरिएको हो ।
वृद्धभत्ता र अपाङ्ग भत्ता पोल्टो (थैली) सम्म पुर्याने अभियान चलाइरहेका मनहरीका अभियान्ता इन्द्रजित घलानको अग्रसरता तथा वडा प्रतिनिधि र बैंकका कर्मचारीको सहकार्यमा सेवाग्रहीलाई सामाजिक सुक्षा भत्ता घर घरमै पुगेर वितरण गरिएको हो ।
करिब ४ सय जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्रही मध्य पहिलो चरणमा विरामी तथा असक्त लाभग्रहीलाई घरमै पुगेर साथै बाँकि सेवाग्रहीलाई वडा कार्यालय मार्फत भत्ता वितरण गरिएको अभियान्ता घलानले जानकारी दिए ।
साथै उनले देशै भरका स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको पोल्टोमा नै पुग्ने गरि काम गर्नु पर्नेमा जोड दिएका छन् । वडा कार्यालयमा कामना सेवा विकास बैंकका कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए ।
यता वडा अध्यक्ष शिवप्रसाद खनालले भने आफ्नो पहिलो ५ वर्षे कार्यकालमा पुरा गर्नु नसकेको काम दोस्रो कार्यकालयमा पुरा भएको बताएका छन् । वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बजारमा गएर बैंकमा लाईन
बस्नु पर्ने बाध्यता हटेको खनालको भनाई छ । यस अभियानले बास्तविक सेवाग्राही सम्म राज्यले प्रदान गरेको सुविधा पुग्ने उनले बताए । भत्ता वितरण कार्यलाई निरन्तरता दिईनेसमेत उनको भनाई छ ।







