कांग्रेसका तीन सहमहामन्त्रीले हारे चुनाव
मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसका तीन जना सहमहामन्त्रीले चुनाव हारेका छन् । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे र खानेपानीमन्त्रीसमेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका हुन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक पराजित भएकी छिन् ।
०७४ मा मकवानपुर–२ बाट उम्मेदवार रहेकी उनी बामगठबन्धनका विरोध खतिवडासँग पराजित भएकी थिइन् । यसपटक कांग्रेसले उनलाई मकवानपुर–१ बाट उठाएको थियो ।
यहाँ राप्रपाका दिपकबहादुर सिंहले २ हजार ३९३ मतान्तरले पराजित गरेका छन् । उपाध्यायले २५ हजार ४२३ मत ल्याउँदा राप्रपाका सिंहले २७ हजार ८१६ मत पाए । छ महिनाअघि स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका सिंहले प्रतिनिधिसभा सदस्यमा भने ह्याभिवेट नेताहरुलाई पराजित गरेका हुन् ।
खानेपानीमन्त्री समेत रहेका अर्का सहमहामन्त्री उमाकान्त चौधरी बारा–१ बाट पराजित भएका छन् । उनी ०७४ मा भने बामगठबन्धनको बलियो शक्तिका बाबजुद चुनाव जितेका थिए । चौधरी नेकपा एमालेका अच्युतप्रसाद मैनालीसँग ९ हजार १३९ मतान्तरले पराजित भएका छन् । चौधरीले ३० हजार ५६ मत ल्याउँदा मैनालेले ३९ हजार १९५ मत ल्याए ।
त्यस्तै, अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बेपनि पाँचथरमा दोस्रोपटक पराजित भएका छन् । उनी ०७४ मा पनि एमालेका वसन्तकुमार नेम्वाङसँगै पराजित भएका थिए ।
यसपटक पनि नेम्वाङले ४७ मतान्तरले पराजित गरेका छन् । आङ्देम्बे ०७० को संविधानसभा सदस्य निर्वाचनमा पाँचथर–२ बाट निर्वाचित भएका थिए । यसपटक आङ्देम्बेले ३२ हजार ६३ मत ल्याउँदा नेम्वाङले ३२ हजार ११० मत पाएका छन् ।







