मतदातालाई धन्यवाद दिदै थापाले भने– ‘जनताको काममा निरन्तर क्रियाशील बन्ने छु’
मकवानपुर । प्रतिनिधि सभा निर्वाचनमा पराजय बनेका मकवानपुर क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाका राज थापा(सुरेश)ले मतदातालाई धन्यवाद दिएका छन् ।
उनले निर्वाचित भएका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई बधाई दिँदै निर्वाचनमा भ्रम र प्रतिकुलतालाई चिर्दै मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका हुन् ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै समाजिक सञ्जाल फेसबुक मार्फत उनले भनेका छन्, ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्बन्ध/सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत् लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।’
अबको बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पाटी प्रति समर्पित रहने उनले बताएका छन् । थापाले ५ हजार ६ सय ९३ मत प्राप्त गरेर पराजय बनेका थिए ।







