मकवानपुरका १० मतदानस्थल अपाङ्गमैत्री

अखबार हब
२०७९ मंसिर ३, शनिबार २०:३८

मकवानपुर। आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको छ । ती सबै मतदानस्थल हेटौंडा उपमहानगरपालिका भित्र रहेका छन् ।

भुटनदेवी मावि हेटौंडा–४, बालज्योति मावि हेटौंडा–५, नवज्योति मावि हेटौंडा–७, वडा नम्वर १५ कार्यालय रातोमाटे, रोप वे भवन हेटौंडा–१, महेन्द्र किरण मावि हेटौंडा–३, सिद्धार्थ मावि हेटौंडा–२, जनप्रिय उच्च मावि हेटौंडा–१६, विष्णुज्योति आधारभूत विद्यालय हेटौंडा–१२ र ज्ञानदा मावि हेटौंडा–१० मतदान स्थल अपाङ्गमैत्री बनाइएको हो ।

अपांगमैत्री मतदान स्थलमा मतदान गर्ने ठाउँसम्म पुग्नका लागि अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

अपाङ्गमैत्री सबै मतदानस्थलमा महिला, पुरुष र अन्य गरी तीनवटा प्रवेशद्वार बनाइएको छ । अपाङ्गमैत्री प्रवेशद्वारबाट अपाङ्गता भएका व्यक्तिका साथै वृद्ध, अशक्त, गर्भवती र बिरामी भएका व्यक्तिहरुलाई समेत सजिलोसँग मतदान गराउने व्यवस्था गरिएको पोखरेलले बताए ।

यी केन्द्रमा ब्रेललिपिमा छामेर मत संकेत छान्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साहारा लिनुपर्ने अवस्थामा मतदाताले तोकेको आफ्नो परिवारको सदस्य वा मतदान अधिकृतबाट समेत सहयोग लिन सकिने व्यवस्था गरिएको पोखरेलले बताए ।

मकवानपुरमा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ४७ हजार २००, पुरुष १ लाख ५३ हजार ५२८ र तेस्रोलिङ्गी ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*