मकवानपुरगढीमा गठबन्धन दलका ३४ जना युवा एमाले प्रवेश
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, डुम्रेकुनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ गाउँ कमिटीले निर्वाचन लक्षित कार्यक्रम आयोजना गरेको छ ।
सोमबार निर्वाचन प्रचारप्रसार तथा बुथ व्यवस्थापन कार्यक्रममा युवा संघले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति तयार गरेको छ । निर्वाचनमा युवा सहभागितालाई बलियो बनाउने र एमालेका उम्मेदवार जिताउने गरी मतदातासँग युवा परिचालन गर्ने नीति लिएको युवा संघ गाउँ कमिटी अध्यक्ष उत्तम अधिकारीले बताए ।
अध्यक्ष अधिकारीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मिलन पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, पार्टी जिल्ला सल्लाहकार परिषद् सदस्य कृष्णबहादुर थिङ, युवा संघ बागमती प्रदेश कमिटी कोषाध्यक्ष नरेन्द्र भण्डारी, पार्टी गाउँपालिका सचिवालय सदस्य तथा ६ नम्बर वडा इञ्चार्ज टिका प्रसाद दहाल, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष विष्णु दंगाललगायतले मन्तव्य राखेका थिए ।
निर्वाचनमा एमालेका उम्मेदवारहरुको जित सुनिश्चित रहेको नेताहरुले बताएका छन् । कार्यक्रममा गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का युवाहरुले एमाले रोजेका छन् । गठबन्धन दलका ३४ जना युवाहरु एमालेमा प्रवेश भएको संघ गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
उनीहरुले कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन बनाएर सत्तामा पुग्ने र देश लुट्ने मात्रै ध्यानमा रहेको भन्दै विकासवादी र राष्ट्रवादी पार्टी एमाले नै भएको प्रतिक्रिया दिएका थिए ।







