मिथ्या सूचनाबाट सचेत रहन प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह
मकवानपुर । मिथ्या सूचनाले निर्वाचन माहोल बिथोल्ने भएकोले सचेत रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले आग्रह गरेका छन् । सोमबार हेटौंडामा आयोजित निर्वाचन र मिथ्या सूचनाको चुनौति विषयक कार्यक्रममा प्रजिअ पाण्डेले यस्तो बताएका हुन् ।
कार्यक्रममा दुरसंचार प्राधिकरणका निर्देशक दिपेश आचार्यले सूचना सम्प्रेषणको क्रममा सधै सचेत हुनुपर्ने बताए । चुनाव जस्तो जनमतको परिणाममा नै असर पर्ने अवस्थामा झनै संवेदनशिल भएका सूचना प्रवाह गर्न आचार्यले आग्रह गरे । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चारकर्मी तथा सामाजिक सञ्जाल सञ्चालकहरुले यस्तो कुरामा ध्यान दिनु पर्ने सवालमा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बिज्ञको रूपमा फ्याक्ट चेक नेपालका सम्पादक दिपक अधिकारीले भ्रामक सूचनबारे प्रस्तुती गरेका थिए । मतदातालाई आफ्नो पक्षमा तान्न, सूचनालाई आफू अनुकुल व्याख्या गर्ने, चुनावी परिमाणलाई आफ्नो पक्षमा पार्न कै लागि बढी मिथ्या सूचना प्रयोग हुने गरेको अधिकारीले बताए ।
पार्टीगत पक्षधरता प्रकग गर्ने, उत्तेजित बनाउने, आफ्नो बिचार मिल्ने सामग्री मात्रै उपभोग गर्ने जस्ता परिपाटीले सूचना प्रणाली विकृत हुने गरेको अधिकरीले बताए ।
यस्ता चुनौतीलाई चिर्न सार्वजनिक वृत्तमा रहेका व्यक्तिलाई जिम्मेवार बनाउने, सूचना विश्वासनिय स्रोतबाट मात्रै लिने, सन्चार साक्षरताको प्रवर्द्धन गर्ने जस्ता कदम आवश्यक भएको अधिकारीले बताए ।
कार्यक्रममा बागमती प्रदेश निर्वाचन कार्यालय लुम्बनाथ पोखरेल सरकारी तहबाट मिथ्या सूचना प्रवाहमा रोक लगाउन सधैं तत्पर रहेको उल्लेख गदै कहिलेकाँही नेतृत्वमा रहेका व्यक्तिहरुको कारण समस्या हुने गरेको गुनासो गरे । कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीहरु, अधिकारकर्मीहरु, विद्यार्थीहरु तथा कानुन व्यवसायिहरुको प्रतिनिधिमुलक सहभागीता रहेको थियो ।
टेकपाना मिडिया प्रालिको सहकार्य तथा नेपाल दुरसचार प्राधिकरणको सहयोगमा आर के टेक सोलिसनको आयोजनामा कार्यक्रम गरिएको थियो ।







