मकवानपुरमा विकासको मुल फुटाउने एमाले उम्मेदवार श्रेष्ठको प्रतिबद्धता
मकवानपुर । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले समेटेका प्रतिबद्धताहरुमा पहिले एमालेको सरकारले सुरु गरेका बिकासका काम पुरा गर्दै विकासको मुल फुटाउने बताएका छन् ।
हेटौंडा उपमहाँनगरका सबै वडाहरू र बस्तीहरूलाई सडक सञ्जालमा समेटिने गरी नगर सडकलाई व्यवस्थित गर्नुका साथै कर्रा तथा राप्ती खोलामा करिडोर निर्माण गरी पर्यटकीय गतव्य स्थान बनाइन बताएका छन् ।
हेटौँडाबाट लामो तथा मध्यम दूरीको विद्युतीय वस सञ्चालन गर्न आवश्यक गृह कार्य गर्ने वताउँदै उम्मेदवार श्रेष्ठले भने–‘हालसम्म सडकको पहुँच नपुगेका वस्तीहरूमा सडकको पहुँच पु¥याई सडकको स्तरीकरण तथा विस्तार गरिनेछ ।
हेटौंडा बजार क्षेत्रका सडक फराकिलो बनाई वाइपास सडकका साथै वैकल्पिक चक्रपथको निर्माण गरी हेटौंडाको सडक र बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरिनेछ । उपयुक्त स्थानको खोजी गरी हेटौंडामा विमानस्थलको निर्माणका लागि पहल गरिनेछ । कान्तिलोकपथको निर्माण तत्काल सम्पन्न गराउन पहल गर्नुका साथै पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ ।’
यसैगरी हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउनका लागि आवश्यक पूर्वाधार तयार गरिने उनले बताए । हेटौंडा–काठमाडौँ सुरुङमार्ग राज्यको लगानीमा निर्माण गर्न पहल गरिने बताए । शिक्षा तथा खेलकुद विकासका काममा पनि धेरै खालका काम गरिने उनले बताए । हेटौंडालाई शैक्षिक हवको रूपमा विकास गरिने बताउँदै हेटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गरिने बताए । प्राविधिक जनशक्ति तयार गर्न प्राविधिक शिक्षा (जस्तैः वन, कृषि, पशु, इन्जिनियरि, स्वास्थ्य) शैक्षिक संस्थाहरूको स्थापना तथा सञ्चालन गर्न पहल गरिने उम्मेदवार श्रेष्ठले बताए ।







