एमालेलाई कुनै शक्तिले हराउन सक्दैन : उम्मेदवार श्रेष्ठ
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर १(ख) का उम्मेदवार एकालाल श्रेष्ठले एमालेलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताएका छन् । आईतवार हेटौंडा १२ र १३ मा भएको कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले एमालेले गरेका कामको उपलब्धि नै एमालेको जित्ने आधार भएको बताएका छन् ।
जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको एमालेको लोकप्रियताबाट आत्तिएर काङ्ग्रेस नेतृत्वमा केही दलको गठबन्धन भएपनि एमालेले त्यसको डटेर सामना गर्दै अगाडि बढेको बताए । एमाले सरकारका काम र उपलब्धिलाई जनताले बिश्वास गरेर मत दिने श्रेष्ठको भनाई थियो ।
अहिले पनि विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु एमाले पार्टीमा समाहित हुने क्रम तीव्र बनेको उनको भनाई छ । उनले एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनबाट पूरा गर्दै स्थायी सरकार निर्माण हुने धारणा राखेका छन् ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर रहेको भन्दै यसलाई बलियो बनाउन एमालेको नेतृत्व सरकार आवश्यक रहेकोमा जोड दिए । राजनीतिक स्थायीत्व र राष्ट्रिय स्वाभिमान नरहे सामाजिक सद्भाव पनि बाकी नरहेने उनको भनाई छ । केपी ओलीको नेतृत्वको सरकारले नै मुलुकको निकास र भविष्य कोर्ने उम्मेदवार श्रेष्ठले बताए ।







