स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धनले जित्नुपर्छ : मोक्तान

अखबार हब
२०७९ कार्तिक १६, बुधबार ११:१५

मकवानपुर । नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धन दलले जित्नुपर्ने बताएका छन् ।

मंगलबार भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित कालिकाटारमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मोक्तानले आफ्नो पहलमा यस क्षेत्रमा करोडौं रुपैयाँको बजेटका कामहरु भएको बताइन् ।

मोक्तानले भन्नुभयो, ‘५० लाख भन्दा माथिको बजेट यस क्षेत्रमा आएको थिएन, मैले नै पहल गरेर सिन्की खाडल बर्दैउ लगायत दर्जनौं बस्तीहरुमा सडक पुर्‍याइएको छ ।’ ‘यी सबै सडकको स्तरिकरण र थप बिस्तारकको काम पनि हामी गर्नेछौं ।’

त्यसको लागि गोलाकारभित्रको हसियाँ हथौडा चिन्हमा मतदान गरेर आफुलाई विजयी गराउन मोक्तानले मतदाताहरुलाई आग्रह गरिन् ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्री समेत रहेकी मोक्तानले प्रदेश सरकारबाट भीमफेदी गाउँपालिकामा मात्र दुई अर्ब ८८ करोड रुपैया बजेट बिभिन्न शीर्षकमा प्राप्त भएको बताइन् । ‘यो पैसा गठबन्धन सरकारले ल्याएको हो । जहाँ काम भएको छैन, विकासको काम सम्बेधन गर्न बाँकी छ, त्यस्तो ठाउँमा पनि हामी सम्वोधन गर्दै जानेछौं’, उनले भनिन् ।

नेपाली कांग्रेस भीमफेदी २ नम्बर वडाकी सभापति मन्जु थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य लवशेर विष्ट, नेकपा एकिकृत समाजवादीका मकवानपुर सचिब विष्णु दाहाल, नेपाली कांग्रेसका नेता खड्ग गोपाली, यतिराज सापकोटा, नेकपा माओवादी केन्द्र भीमफेदीका नेता बद्रि बहादुर स्याङ्तान, अप्सरा लामा, नेपाली कांग्रेसका नेता नारायण थापा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*