एमालेको घोषणापत्र : निःशुल्क ५० युनिट बिजुलीदेखि १ सय खर्बको अर्थतन्त्रसम्म (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।
एमालेले आफ्नो घोषणापत्रमा २० वटा विषयमा ‘ग्यारेन्टी’ गरेको छ । जसमा नेपालीलाई मात्र नागरिकता दिनेदेखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै दस हजार लिटर पानी निस्शुल्क बाँड्नेदेखि ५० युनिट बिजुली निःशुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।







