हेटौंडामा मनाईदै छठ पूजा, ५० हजार भक्तजन आउने अनुमान

अखबार हब
२०७९ कार्तिक १३, आईतवार १३:०२

मकवानपुर । हेटौंडामा हरेक वर्ष जस्तै यसवर्ष पनि छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।

आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । छठ पूजाको लागि हेटौंडा–१ को राप्तितटको छठघाट लाई चिटिक्क पारेर सजाइएको छ । हेटौंडामा वर्षौदेखि छठ पर्व विशेष रुपमा मनाइँदै आएको छ । विशेषगरी तराईबासीले मनाउने गरेको छठ पर्व पछिल्लो समय हेटौंडामा पहाडी मुलका नागरिकहरुले पनि मनाउन थालेका छन् । छठ पूजाको लागि नदिको छेउमा व्रतालुहरुले पूजा गर्न मण्डप राखेका छन् । राप्तीरोडदेखि नै झिलिमिली बत्ति लगाएर छठ पर्वको तयारी गरिएको छ भने राप्ती पुलनजिक मुल गेट, सहायक गेट बनाइएको छ ।

पूजाको लागि राप्ति बगरमा टेण्ट लगाउने, बत्ती लगाउने, मुर्ती बनाउने जस्ता विविध कार्य गरेर सिंगारिएको छ । छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबहरुले टेन्ट र पण्डाल लगाएका छन् । छठ पूजा आयोजक संयुक्त मधेशी सेवा समाज नेपालका सचिव नन्दलाल दासले छठ पूजाको सम्पूर्ण तयारी सकिएको बताए । उनले पूजाको लागि राप्ति बगरलाई विभिन्न श्रृंगारले सजाइएको बताए । दासका अनुसार छठ पूजा गर्ने श्रद्वालु भक्तजन र दर्शकहरुको लागि पण्डाल हालिएको छ । उनले करिब ५० हजार दर्शक र भक्तजन छठ पूजाका लागि राप्तितटमा आउने अनुमान गरिएको बताए ।

यस वर्ष राप्तितटलाई विगतको भन्दा केही फरक ढंगले सिंगारिएको छ । दासका अनुसार यसवर्ष छठ पूजालाई अझ विशेष बनाउनका लागि घोडा चढेको सूर्यदेवको मूर्ति पनि बनाइएको छ । उनले सबै समुदायसँग मिलेर छठ पूजाको तयारी गरिएको बताए । हेटौंडा उपमहानगरपालिका र सडक विभागको सहयोगमा घाट व्यवस्थापन गरिएको उनको भनाई छ । उनका अनुसार छठ पूजाको लागि हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले छठ पूजाको लागि विशेष सुरक्षा व्यवस्था गरिएको बताएका छन् । छठ पूजामा धेरै भिडभाड हुने हुँदा विभिन्न घटनाको जोखिम रहेको भन्दै उनले विशेष सुरक्षा व्यवस्था बनाइएको बताए ।

गौतमले छठ पूजाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १ सय ५५ जना प्रहरी परिचालन हुने जानकारी दिए । म्यादी प्रहरीलाई पनि परिचालन गरिने उनको भनाइ छ । उनले यो वर्ष निःशुल्क रुपमा पार्किङको व्यवस्था रहेकोसमेत जानकारी दिए । छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका ब्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*