हेटौंडाको नयाँबस्तीबाट अवैध काठ बरामद, तस्करीमा सङ्लग्न सिँजाली फरार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ की तत्कालीन वडा सदस्य चमेलीमायाँ सिँजालीको घरबाट अबैध चिरान काठ बरामद भएको छ ।
आईतवार पर्सा राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले हेटौंडा–१४ नयाँबस्ती स्थित सिँजालीको घरबाट १ सय ६१ थान अवैध चिरान काठ बरामद गरेको हो ।
सिँजालीको घरमा अवैध रुपमा लुकाईछिपाई राखिएको एकसय २३ थान झ्यालढोकाको चौकोष फ्रेम, ३८ थान चिरान काठसहित अन्य फर्निचरका सामाग्री निकुञ्ज प्रशासन र सेनाको टोलीले बरामद गरेको हो । निकुञ्ज प्रशासन र सेनाको टोलीले काठ बरामद गर्ने क्रममा सिँजाली भने फरार भएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सुर्य खड्काले जानकारी दिए । प्रहरीको सहयोगमा फरार सिँजालीको खोजी खोजिकार्य भइरहेको निकुञ्जले जनाएको छ ।
काठ तस्करीमा सङ्लग्न सिँजाली २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन् ।







