बागमतीका सभामुख र उपसभामुखले नै फिर्ता गरेनन् सेवासुविधा
मकवानपुर । असोज १ गते निर्वाचन आयोगमा समानुपातिकको बन्द सूची बुझाएसँगै कार्यकाल अन्त्य भएपनि बागमती प्रदेशका सभामुख, उपसभामुख र समिति सभापतिहरुले सेवासुविधा फिर्ता गरेका छैनन् । उनीहरुले सेवासुविधाको रुपमा लिएको गाडि, मोवाइल, ल्यापटप, सरकारी निवास, स्वकीय फिर्ता नगरेका हुन् ।
१ साउनमा प्रदेशसभा सचिवालयमा बिदाइ कार्यक्रम गरिसक्दा पनि उनीहरुले पाँच वर्षदेखि लिँदै आएको सेवासुविधा फिर्ता नगरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, उद्योग पर्यटन तथा वातावरण समिति सभापति रमा आले मगर, प्रदेश मामिला समिति माधव प्रसाद पौडेल सेवा सुविधा फिर्ता नगरेका हुन् ।
सभामुख श्रेष्ठले प्रयोग गर्दै आएको प्रदेश ३–०३–००१ झ ००२० नम्बरको स्कारपियो, मोवाइल फोन सेट र ल्यापटप प्रयोग गरिरहेका छन् । उनले प्रयोग गर्दै आएका दोस्रो गाडी ना २ झ ३८०९ नम्बरको डस्टर भने, फिर्ता गरिसकेको सचिवालयले जनाएको छ ।
यसैगरी, उपसभामुख तामाङले बागमती प्रदेश–०३, ००१ झ १२१ नम्बरको स्कारपियो र ल्यापटप फिर्ता गरेकी छैनन् । सभामुख र उपसभामुखले अझै पनि सरकारी निवाससमेत छाडेका छैनन् । उनीहरुले सरकारी निवास हेटौंडा–१० स्थित सडक डिभिजन कार्यालयको भवनभित्र बस्दै आएका छन् ।
उद्योग पर्यटन तथा वातावरण समिति सभापति नेकपा एकीकृत समाजवादीकी मगरले प्रयोग गर्दै आएको प्रदेश ३–०३–००१ झ ००२२ नम्बरको स्कारपियो र ल्यापटप, प्रदेश मामिला समिति सभापति नेकपा एकीकृत समाजवादीका पौडेलले प्रदेश ३–००३–००१ झ ००२३ नम्बरको स्कारपियो र ल्यापटप फिर्ता गरेका छैनन् ।
यी पदाधिकारीले फिर्ता गरे
प्रमुख प्रतिपक्ष दलको नेता, प्रतिपक्ष दलको प्रमुख सचेतक, सत्ता पक्षको मुख्य सचेतक र तीन समिति सभापतिहरुले सेवासुविधा फिर्ता गरिसकेको छन् ।
प्रमुख प्रतिपक्ष दलको नेता अष्टलक्ष्मी शाक्यले प्रदेश ३–०३–००१ झ ००२१ नम्बरको स्कारपियो, प्रमुख सचेतक दीपक निरौलाले प्रदेश ३–०३–००१ झ ००२८ नम्बरको स्कारपियो र सत्ता पक्ष नेकपा एकीकृत समाजवादीकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश ३–०३–००१ झ ००२४ नम्बरको स्कारपियो गाडी बुझाइसकेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति सभापति नेपाली काँग्रेसका न्हुच्छेनारायण श्रेष्ठले प्रदेश ३–०३–००१ झ ००२० नम्बरको स्कारपियो गाडि बुझाए सकेका छन् । तर, उनले ल्यापटप आफ्नै साथमा राखिरहेका छन् ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति नेकपा एमालेका केशवप्रसाद पोखरेलले प्रदेश ३–०३–००१ झ ००२५ नम्बरको स्कारपियो, अर्थ तथा विकास समिति सभापति नेकपा एमालेका नारायणबहादुर सिलवालले प्रदेश ३–०३–००१ झ ००२७ नम्बरको स्कारपियो गाडि बुझाइसकेका छन् ।







