बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका ३३ उजुरी
काठमाडौँ । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको वाग्मती प्रदेश कार्यालयमा सो वर्ष प्रदेशका १३ जिल्लाहरूबाट ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू रेकर्ड भएका हुन् । आयोगले सो वर्ष ३३ वटा उजुरीहरू परेको जनाएको छ ।
आयोगको प्रतिवेदनअनुसार त्यसमध्ये नागरिक तथा राजनीतिक अधिकार ऊल्लंघनका १७, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका ७, यातना तथा क्रुर अमानवीय व्यवहारविरुद्धको अधिकारका १, बालअधिकारसम्बन्धी २, महिलाविरुद्धको १, आप्रवासी कामदारहरुको अधिकारसम्बन्धी २, जातीय भेदभाव १ र अपाङ्गता भएकाको अधिकारसम्बन्धी १ वटा घटना भएका छन् ।
त्यसमध्ये काठमाडौंमा मात्रै ८ उजुरी छन् भने सबैभन्दा कम रामेछापबाट एउटामात्रै उजुरी परेको छ । भक्तपुर, सिन्धुली, रसुवा र मकवानपुरबाट कुनै पनि उजुरी परेको छैन ।
आयोगमा वाग्मती प्रदेशमा अघिल्लो वर्षका बक्यौता उजुरीहरूको संख्या ५९७ छ । आयोगमा उजुरी दर्ता भए पनि धेरै उजुरीहरूको फर्छ्यौटमा भने ढिलासुस्ती रहेको देखिन्छ ।







