मकवानपुरमा ठूला दलले टुंग्याए संघीय सांसद सिफारिस

अखबार हब
२०७९ भाद्र २१, मंगलवार १९:२०

मकवानपुर । ४ मंसिरमा हुने निर्वाचनका लागि चार ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारका लागि नाम सिफारिस टुंग्याएका छन् ।

मकवानपुरको २ क्षेत्रका लागि प्रतिनिधिसभा सांसदको उम्मेदवार बनाउन चार ठूला दलहरुले प्रदेश तहमा नामावली सिफारिस टुंग्याएका हुन् ।

काँग्रेसबाट क्षेत्र नछुट्याइ सिफारिस
कांग्रेस मकवानपुरको कार्य समिति बैठकले केन्द्रीय सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वसभापति माइकल रामचन्द्र अर्याल र जयराम लामिछानेको नाम दुई क्षेत्रका लागि नाम सिफारिस गरिएको छ जिल्ला सचिव भीमसेन महतले जानकारी दिए । सचिव महतका अनुसार यी चार मध्ये दुई जना एक–एक क्षेत्रबाट उम्मेदवार बन्ने छन् ।

एमालेले पठायो आठ जनाको नाम
यसैगरी, नेकपा एमाले मकवानपुरले पनि प्रतिनिधिसभा सांसदका लागि नाम सिफारिस गरिसकेको छ । एमालेले क्षेत्र नम्बर १ को लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको वैठकले क्षेत्र १ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल, नरहरि महत र रमिला सापकोटाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि ३ जनाको नाम एमालेले सिफारिस गरेको छ । महेशकुमार बर्तौला, सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरको नाम उम्मेदवार बनाउन नाम प्रदेश कमिटीमा पठाइएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

माओवादीमा थोरै आकांक्षी
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला पार्टी कार्यालय हेटौडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रत्यक्षतर्फ पूर्वसभासद् प्रल्हाद लामिछाने, जीवन गोले, बसन्तकुमार लामालाई सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को लागि पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र पार्टीका पोलिटब्यूरो कुमारी मोक्तानलाई सिफारिस गरेको छ ।

नेकपा एसबाट क्षेत्र नम्बर २ मा विरोध खतिवडा मात्र
नेकपा एकीकृत समाजवादी मकवानपुरले प्रदेश तहमा क्षेत्र नम्बर २ बाट पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाको मात्र नाम सिफारिस गरेको छ ।

गठबन्धनमा खतिवडानै उम्मेदवार बन्ने सम्भावना बढेपछि नेकपा एसले उनको मात्र नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर १ का लागि धनप्रसाद गौतम, यादव गजुरेल र विशभ अधिकारीको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ ।

कमल थापा राप्रपा नेपालबाट एक्लो सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले जिल्लाबाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम मात्र सिफारिस गरेको छ ।

थापाको गृह क्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन उनको एकल नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापा गत निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाटै यसै क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनी नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*