मकवानपुरका कुन स्थानीय तहका कति उजुरी ?
मकवानपुर । मकवानपुरका स्थानीय तह विरुद्धको उजुरी बढेको छ । जिल्लामा रहेका दश वटा स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा बढी उजुरी परेको हो ।
जिल्लाका स्थानीय तहहरु मध्य सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको र दास्रोमा मनहरी गाउँपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु प्रभा सापकोटाले जानकारी दिए ।
आयोगले आज हेटौंडा स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो ।
हेटौंडा उपमहानगरपालिकामा बितेको आर्थिक वर्षमा मात्र एक सय २४ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षमा ४५ वटा मात्र उजुरी परेका थिए ।
यसैगरी थाहा नगरपालिकामा दुइ वर्षको बिचमा ८ वटा उजुरी परेका छन् । इन्द्र सरकोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दुइ वर्षमा परेको सापकोटाले बताए ।
परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए ।
मकवानपुरका स्थानीय तहमा परेका उजुरीको तथ्याङक








