मानवसेवा आश्रमको एक दशक : ७ हजारको उद्धार, ३ हजार ४ सय जनाको पुनः मिलन
मकवानपुर । मानवसेवाको भावनाले स्थापना गरिएको मानवसेवा आश्रम स्थापनाको एक दशक पार गरेको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्ने उद्देश्यका साथ स्थापना गरिएको मानवसेवा आश्रम भदौ १३ गने १० वर्ष पुरा गरि ११ औं वर्षमा प्रवेश गरेको हो । सोमवार आश्रमको मुख्य कार्यलय हेटौंडा– ९ मा पत्रकार सम्मेलनको आयोजना गरि सो बारेमा जानकारी गराइएको छ ।
२०६९ साल जेठ २७ गते मकवानपुरको हेटौंडामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमले मानवताको सेवाका लागि मानवसेवा आश्रमको परिकल्पना गर्दै भदौ १३ गते औपचारिक रुपमा मानवसेवा आश्रमको शुभारम्भ गरिएको मानवसेवा अभियान्ता रामजी अधिकारीले जानकारी दिए ।
आश्रमले हालसम्म सातै प्रदेशको १९ जिल्लामा आफ्नो शाखा विस्तार गरि सकेको छ । आगामी २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा एवं कार्यन्वयनका लागि काम गरि रहेको आश्रमले हाल देशका ७७ वटै जिल्लाका सडक मानवको उद्धार गरिरहेको अधिकारीले बताए ।
आश्रमले देशैभरि बाट हालसम्म ७ हजार २ सय ६३ जना सहयोपेक्षीत मानवको उद्धार गरिसकेको छ । जसमा हाल १ हजार ४ सय ८० जना आश्रित छन् ।
अधिकारीका अनुसार आश्रममा आश्रित ७ सय ९५ जनाको मृत्यु भएको र हाल सम्म ३ हजार ४ सय ९ जनालाई पुनः परिवारमा मिलन गराइ सकेको छ । आश्रमबाट स्वेच्छाले बाहिर जानेको संख्या भने ३ सय ५९ जना रहेको अधिकारीले बताए ।
मुख्य कार्यलय हेटौंडामा मात्र हालसम्म १ हजार ४ सय ३७ जनको उद्धार गरेको छ भने हाल २ सय जना आश्रममा आश्रित छन् । ७ सय ५८ जनाको पुनःमिलन गराएको हेटौंडामा ३ सय ५९ जनाको आश्रममै मृत्यु भइसकेको छ ।
देश भरि रहेको आश्रममा मासिक २ करोड खर्च हुने र २ अर्ब बराबरको भवन निर्माण काम समेत भइरहेको अधिकारीले जनाए । सम्पूर्ण खर्च आश्रमले तिन वटै तहका सरकार र सहयोगि व्यक्ति तथा संस्थाहरूबाट व्यवस्थापन गर्दै आएको छ । आश्रमले चलायको ३६५ दिन खान अभियान अन्तरगत हाल सम्म ९० दिनको खाना बुकिङ भइसकेको र बाँकी दिनको खाना बुकिङ अभियानलाई समेत निरन्तरता दिइने उनले बताए ।
स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
आश्रमले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । भदौ १३ गने एक दशक पार गरि ११ औं वर्षमा प्रवेश गरेको आश्रमले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाउने भएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन भदौ ७ गने हेटौंडाको बुद्ध चोकमा रक्तदान, ८ गने आश्रम क्षेत्र परिषदमा वृक्षारोपण, ९ गते आश्रम रहेको धापटोल सरसफाई तथा दिउँसो तीज विशेष कार्यक्रमको आयोजना गरिने अभियान्ता रामजि अधिकारीले बताए ।
त्यस्तै संस्थाले भदौ १० गते हेटौंडा क्षेत्रमा रहेका सहयोपेक्षी सडकआश्रित मानवहरुको वृहत उद्धार गर्ने, ११ गते कुशे औंशीको दिन मुठ्ठीदान संकलन, १२ गते दीप प्रज्वलन र भजन सन्ध्या र १३ गते वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिने उनले बताए ।
साथै आश्रमले आगामी मंसिर महिनाको २२ गते नेपथ्य लाइभ कन्र्सट हुन लागेको जानकारी दिए । उनका अनुसार मंसिर १६ गतेबाट पुष १६ गतेसम्म एक महिना देशको १० प्रमुख शहरहरुमा ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमको तयारी सुरु भएको छ ।







