स्थिरता विना विकास र समृद्वि असम्भवः केन्द्रीय सदस्य राना
नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा एमाले मुलुकमा शान्ति र स्थिरताको पक्षमा रहेको बताएका छन् ।
४५ दिने पार्टी संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानको सन्दर्भमा हेटौँडा उपमहानगरपालिका वडा नं. १७ द्वारा आयोजित वडास्तरीय प्रशिक्षण कार्यक्रममा नेता रानाले माओवादी, विप्लव, सिके राउतलगायतको समूहलाई राजनीतिको मूलप्रवाह ल्याई मुलुकमा शान्तिपूर्ण वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । लोकतन्त्रको सुदृढीकरणको लागि जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्ने भन्दै गणतन्त्रको अनुभूति गरिव परिवारको घरघरमा हुनपर्ने बताए।
आगामी मंसिरमा हुने संसदीय निर्वाचनमा गठबन्धनबाट राजनीति स्थिरता कायम हुन नसक्ने र स्थिरता विना विकास र समृद्वि सम्भव नहुने भएकोले जनताको छनौट नेकपा एमाले हुने विश्वास व्यक्त गरेका छन्। एमालेले बहुमत प्राप्त गर्दा राजनीति शान्ति, स्थिरता, विकास र समृद्विको जनताको सपना पूरा हुने दावि गरे।
कार्यक्रममा प्रदेश कमिटीका सदस्य देवराज रिमालले गठबन्धन भनेको ठगबन्धन भएको र नेपाली राजनीतिमा काउसो भएको बताउँदै मंसिर ४ गते यो काउसो फाल्ने दिन सावित हुने बताए । जिल्ला कमिटी सचिव नवीन सिग्देल, उपमहानगरपालिका कमिटीका सचिव बोलबहादुर कार्कीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । वडा अध्यक्ष लक्ष्मण खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य कमल बिष्ट, जिल्ला सदस्य शंकर राईलगायतको उपस्थिति रहेको थियो ।







