बागमती प्रदेशमा बढ्यो लागूऔषध कारोबार
मकवानपुर । बागमती प्रदेशमा लागूऔषध कारोबार गर्नेको संख्या बढेको छ । बागमतीका १० जिल्लामा लागूऔषध कारोबारको स्थिति र अभियुक्त पक्राउ बढेको हो ।
तथ्यांकअनुसार आ.व. २०७७/०७८ भन्दा २०७८/०७९ मा लागूऔषध सम्बन्धि कारोबार र पक्राउ परेका अभियुक्त बढेको देखिन्छ । आ.व. २०७७/७८ मा ४ सय ७ जना पक्राउ परेका थिए भने, २०७८/०७९ मा ५ सय ३० जना लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।
यसैगरी, आव २०७६/०७७ मा २ सय ७०, २०७७/०७८ मा २ सय ६० र २०७८/०७९ मा ३ सय ३४ वटा लागूऔषध सम्बन्धि मुद्दा प्रहरी अघि बढाएको देखिन्छ । प्रहरीले २०७७/०७८ मा गाँजा २ हजार ५ सय १४ र २०७८/०७९ मा ३ हजार ७ सय ७५ केजी नियन्त्रणमा लिएको छ ।
तथ्यांकअनुसार चरेश २०७७/०७८ मा १ सय ३४ र २०७८/०७९ मा २ सय, अफिम २०७७/०७८ मा १ हजार ६ सय १९ र २०७८/०७९ मा २६ केजी, खैरो हिरोइन २०७७/०७८ मा २ सय ३५ ग्राम र २०७८/०७९ मा १ सय ५९ ग्राम र औषधिजन्य लागूऔषध २०७७/०७८ मा २२ हजार ८ सय ५९ र २०७८/०७९ मा ४६ हजार २ सय ८१ वटा प्रहरीले नियन्त्रणमा लिएको थियो ।







