घाँसे मैदान बन्यो मुख्यमन्त्री कार्यालयको सभाहल निर्माण स्थल

अखबार हब
२०७९ श्रावण २०, शुक्रबार १०:२९

मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्री सभाहल निर्माण स्थल यति बेला घाँसे मैदानमा परिणत भएको छ ।

हेटौंडा – २ स्थीत उपमहानगरपालिकाको कार्यालय पछाडीको जग्गामा मुख्यमन्त्री कार्यालयको सभाहल निर्माणको काम लामो समय देखि अलपत्र रहदा उक्त स्थानमा यतिबेला घाँस उम्रेर घाँसे मैदान भएको हो ।

निमार्णको काम सक्नु पर्ने अवधि सम्म पनि निमार्ण कम्पनीले जग मात्र हालेर छाडेपछि सभाहल निर्माणको काम अलपत्र परेको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका नि.प्रमुख घनश्याम
श्रेष्ठले बताए ।

५ करोड २६ लाख लागतमा निर्माण गरिने भनिएको सभाहलका लागि शहरी विकास तथा भवन कार्यालय मकवानपुरले संरक्षण/ सेभ ई.जेभी कम्पनीसँग २०७९ वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ कार्तिक १७ गने सम्झौता गरेको थियो । सभाहल निमार्णको जिम्मा पाएको कम्पनीले हालसम्म १ करोड ६८ लाख ५४ हजार रुपैयाँ भुक्तानी लिएको भएतापनि काममा भने चासो नदेखाउँदा सभाहलनै अलपत्र परेको हो ।

प्रदेश सरकारका लागि सुविधा सम्पन्न सभाहल निर्माण गर्ने परिकल्पनाका साथ तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले सभाहलको शिलान्यास गरेका थिए । त्यतीबेला निर्माण अवधि भन्दा अघिनै काम सक्ने प्रतिवद्धता जनाएका निर्माण व्यावसयी पनि मोविलाइजेसन र जग हालेको रकम लिएपछी फिर्ता आएका छेनन् ।

कुल लागतको २० प्रतिशत भुक्तानी लिएको निर्माण कम्पनीले निर्माणको काम भने थोरै मात्र गरेको छ ।

प्रदेश अन्तर्गतका मन्त्रालयका आफ्नै सभाहल नहुदाँ मन्त्रीस्तरीय तथा सचिवस्तरीय बैठक बस्न र कार्यक्रमहरु गर्न मन्त्रालयलाई असहज भइरहेको छ ।

तत्कालीन प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाले प्रयोग गर्ने गरी उपमहानगरपालिका कार्यालय पछाडिको खाली जग्गामा सभा हल निर्माण गर्ने र हलको स्वामित्व उपमहानगरको हुने गरी सहमति भएको थियो ।

४०० क्षमताको उक्त सभा हल सम्पन्न भएपछि पार्टी प्यालेस जानुपर्ने समस्या हट्ने तत्कालीन हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले शिलान्यास कार्यक्रममा बताएका थिए । तर, समयमै सभा हल निर्माण नहुँदा उपमहानगरपालिकाको हालैको नगरसभा पनि पार्टी प्यालेस र होटलमै सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*