धरासायी बन्दै हेटौंडा सिमेन्ट उद्योग,पाँच वर्षमा ६५ करोड ४७ लाख घाटा
मकवानपुर । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग धरासायी बन्दै गएको छ । निरन्तर घाटासँगै हेटौंडा सिमेन्टको उत्पादन क्षमता र बिक्रीसमेत घट्दा धरासायी बन्दै गएको हो ।
उद्योगको तथ्यांकअनुसार पाँच वर्षदेखि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपैयाँ नोक्सान व्यहोरेको छ । आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्ममा उद्योग चार वर्ष निरन्तर घाटामा छ । २०७४/०७५ मा १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ रुपैयाँ नाफा कमाएको हेटौंडा सिमेन्टले त्यसयता २०७८/०७९ सम्म निरन्तर घाटा व्यहोरिरहेको हो ।
तथ्यांक अनुसार उद्योगले २०७४/०७५ मा १ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ९ सय १७ आम्दानी र १ अर्ब ५२ करोड २ लाख ६१ हजार ४ सय १८ खर्च गरेर १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ नाफा आर्जन गरेको थियो । २०७५/०७६ देखि उद्योग करोडको अनुपातमा नोक्सानमा छ । २०७५÷०७६ मा उद्योगको आम्दानी १ अर्ब ६४ करोड २० लाख १८ हजार ३ सय १८ र खर्च १ अर्ब ६५ करोड २५ लाख ५९ हजार ४ सय ५४ हुँदा १ करोड ५ लाख ४१ हजार १ सय ३६ रुपैयाँ नोक्सान भएको थियो ।
यसैगरी, २०७६/०७७ १ अर्ब १ करोड ३ लाख ३ हजार ५ सय ४३ आम्दानी र १ अर्ब २४ करोड ८५ लाख २७ हजार ५ सय ५१ खर्च हुँदा २३ करोड ८२ लाख २४ हजार ८ रुपैयाँ घाटा भएको तथ्यांकमा उल्लेख छ । आव २०७७/०७८ मा पनि उद्योगको घाटा उस्तै छ ।
उद्योगले २०७७/०७८ मा १७ करोड ४ लाख ४० हजार ६ सय ६९ घाटा व्यहोरेको छ । यसवर्ष उद्योगले १ अर्ब २२ करोड ४८ लाख ४३ आम्दानी र १ अर्ब ३९ करोड ५२ लाख ८८ हजार ७ सय ११ खर्च गरेको देखिन्छ । गत आव २०७८/०७९ मा उद्योगको नोक्सान २३ करोड ५५ लाख १० हजार ९ सय ६९ भएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार यसवर्ष उद्योगले १ अर्ब ४३ करोड ४८ लाख ६ हजार २ सय ९५ आम्दानी र १ अर्ब २७ करोड ८९ लाख ९७ हजार २ सय ६४ खर्च गरेको थियो ।
दैनिक ७ सय ५० मेट्रिक टन र वार्षिक २ लाख ६० हजार मेट्रिक टन अर्थात ५२ लाख बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता छ । तर, पछिल्लो दशकदेखि उद्योग पूर्ण क्षमतमा संचालन हुने सकेको छैन । जसका कारण उद्योग निरन्तर घाटामा गइरहेको हो । १३ असोज २०३३ मा हेटौंडा सिमेन्ट एशियाली बिकास बैंक र नेपाल सरकारको लगानीमा स्थापना गरिएको हो ।
उत्पादन र बिक्रीमा पनि गिरावट
हेटौंडा सिमेन्ट उद्योगको उत्पादन र बिक्री पनि गिरावट अवस्थामा छ । निरन्तर नोक्सान व्यहोर्दै आएको उद्योगको उत्पादन र बिक्री बढ्न सकेको छैन ।
तथ्यांकअनुसार आव २०७४/०७५ मा १ लाख ९ हजार ७ सय ९६ मेट्रिक टन सिमेन्ट उद्योग गरेको उद्योगले त्यसवर्ष १ लाख ६ हजार ३ सय ३२ मेट्रिक टन बिक्री गरेको थियो । उत्पादनको तुलनामा यो वर्ष ३ हजार ४ सय ६४ मेट्रिक टन बिक्री कम देखिन्छ ।
यसैगरी आव २०७५/०७६ मा उद्योगबाट १ लाख ९ हजार ६९ मेट्रिक टन उत्पादन र १ लाख ४ हजार ५ सय ९५ मेट्रिक टन बिक्री गरिएको छ । २०७६/७७ मा ८१ हजार ९ सय ८९ मेट्रिक टन उत्पादन र ७२ हजार ७ सय ९५ बिक्री गरेको तथ्यांकमा उल्लेख छ । २०७७/०७८ मा ८९ हजार २ सय २५ उत्पादन र ९२ हजार ६ सय ८८ मेट्रिक टन बिक्री, २०७८/०७९ मा ८५ हजार २ सय ५६ उत्पादन र ८० हजार ६ सय ९८ मेट्रिक टन उद्योगले बिक्री गरेको
छ ।
समस्यैसमस्यामा उद्योग
उद्योगमा समस्यैसमस्या देखिएको छ । उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले उद्योगको बर्तमान स्थितिमा समस्यैसमस्या रहेको बताए ।
उनले कर्मचारी, जडित उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार जस्ता मुख्य समस्या उद्योगमा देखिएको दाबी गरे । ‘उद्योगको सांगठनिक तालिका अनुरुपको स्वीकृत स्थायी दरबन्दी ६ सय ५५ जना रहेको र हाल उद्योगमा २ सय २४ जना मात्रै कार्यरत रहकोले ४ सय ३१ स्थायी दरवन्दीखाली भएकोले उद्योगको दैनिक कार्य सञ्चालनमा जनशक्ति समस्या छ ।’ महाप्रबन्धक पाण्डेले भने ।
स्वीकृत दरबन्दी बमोजिमको कर्मचारी कार्यरत नहुँदा मौजुदा कर्मचारीहरुलाई ओभरटाइममा लगाउनु परेको र ओभरटाइमको रकम भुक्तानी नहुँदा कर्मचारीहरुको कार्यगत मनोबलमा ह्रास देखिएको उनले गुनासो सुनाए ।
यसैगरी, उद्योगको जडित उपकरण, मेसिनरी औजारहरु पुरानो प्रविधिको भएकाले निरन्तर उत्पादन हुन नसकेको, मेसिनरी संयन्त्रको मर्मत सम्भारमा बढी श्रम समय र जनशक्ति खर्चिनु परेको, स्थानीय औद्योगिक बजारको अभावको कारण मेसिन उपकरणको मर्मत, प्रतिस्थापनमा बढी समय लाग्ने, उत्पादन अवरुद्ध भएकोले उत्पादन लागत बढी भएकाले बजार मूल्य समायोजन गर्न नसक्नु समस्या देखिएको छ । नयाँ पत्रिकाबाट साभार







