सवारी दुर्घटना : मकवानपुरमा एक वर्षमै ७० जनाको मृत्यु

अखबार हब
२०७९ श्रावण १४, शनिबार १४:४०

मकवानपुर । मकवानपुरमा एक वर्षमै सवारी दुर्घटनाका कारण ७० जनाको मृत्यु भएको छ। मुलुकको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, मदन–भण्डारी राजमार्ग र हेटौंडा–काठमाडौं मार्ग जोडिएको मकवानपुरमा सवारी दुर्घटनाबाट एक वर्षमै ७० जनाले ज्यान गुमाएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६३ पुरुष, चार महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। गत साउनमा २५ दुर्घटनामा चार, भदौमा १५ दुर्घटनामा दुई र असोजमा ३० दुर्घटनामा पाँच जनाले ज्यान गुमाए। त्यसैगरी कार्तिकमा ३० दुर्घटनामा ११, मंसिरमा १९ दुर्घटनामा तीन, पुषमा २२ दुर्घटनामा चार, माघमा २८ दुर्घटनामा सात, फागुनमा ४१ दुर्घटनामा चार, चैतमा २२ दुर्घटनामा ६, बैशाखमा २५ दुर्घटनामा ६, जेठमा ३४ दुर्घटनामा १३ र असारमा २६ दुर्घटनामा पाँच जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले वर्षायाम र चाडपर्वको समयमा बढी सवारी दुर्घटना भएको बताए। ‘वर्षायामको समयमा सवारी चाप कम भएपनि सवारी दुर्घटनाको अवस्था बढेको देखिन्छ। वर्खायाममा सडक हिलो र चिप्लो हुन्छ, नियन्त्रण गर्न नसक्ने गरी सवारी साधन चलाउनाले दुर्घटना निम्तिने गरेको छ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*