निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्छः प्रधानमन्त्री देउवा
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिए ।
हेटौंडामा आयोजित नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पछिल्ला केहि घटनाक्रममा झुठा आरोप लगाउने किसिमका समाचार लेखन बढ्दो रहेकोले निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिएका हुन् ।
‘पछिल्लो समय नियोजित रुपमै झुठा समाचार लेख्ने र विभिन्न लान्छना लगाउने प्रवृति बढेको पाइएको छ ।’, उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अतिनै आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले राजनीतिक स्थायित्वको बिषयमा पत्रकारले सदैव कलम चलाउनुपर्ने दाबीसमेत गरे । उनले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको विभिन्न चरणको संर्घषमा प्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।
उनले कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै, भने ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’ देउवाले केहि समयभित्रै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गर्ने बताए । सरकारले आम निर्वाचनको तयारीमा रहेकोले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन उनले आग्रहसमेत गरे ।







