बालिका बलात्कार प्रयास प्रकरणः आरोपित वडाध्यक्ष घलान पक्राउ
मकवानपुर । राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौँडा आएको बेला एक बालिकालाई बलात्कार प्रयासको आरोप लागेको वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको विकट कैलाश गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष भुवन सिं घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घलानमाथि १९ असारमा हेटौँडा–१ स्थित आसन गेष्टमा बसेकी बालिकामाथि बलात्कार प्रयासको आरोप छ ।
१७ वर्षीया बालिकाले गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वडाध्यक्ष घलानविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसयता घलान फरार थिए । सोमबार जिल्ला अदालत मकवानपुरबाट पक्राउ पुर्जी जारी भएपछि आज मंगलबार घलान जिप्रका मकवानपुरमा उपस्थित भएका थिए । घलान आफैँ प्रहरी कार्यालय आएको डीएसपी कार्कीले जानकारी दिएका छन् ।
पीडित बालिका हेटौँडामा १८–१९ असारमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कैलाश–९, नामटारको कालिका माविबाट प्रतिनिधित्व गरेर आएकी थिइन् । उनले आफू बसेको होटलको कोठामा मध्यराति आएर आफ्नो संवेनदशील अंगमा हात लगाउनुका साथै बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् ।
वडाध्यक्ष घलानले भने आफूले कुनै गल्ती नगरेको भन्दै कोठामा पुगेर राम्रोसँग सुत्नु भनेर फर्किएको दाबी गरेका छन् ।







