तीन वर्ष देखि फरार रहेका मुक्तिनाथ हेटौंडाबाट पक्राउ

अखबार हब
२०७९ असार २४, शुक्रबार २१:१६

मकवानपुर । विगत ३ वर्ष देखि फरार रहेका मुक्तिनाथ पण्डित हेटौंडाबाट पक्राउ परेका छन् ।

लेनदेनको मुद्धामा काठमाडौं जिल्ला अदालतले २०७६ बैशाख १६ गते उनलाई २ वर्ष कैद सजाय र २४ लाख बिगो भराउन आदेश दिएको थियो । फरार पण्डितले मनमैजु नगरपालिका वडा नं. ७ बस्ने कृष्ण महर्जनलाई ठगि गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पण्डितलाई उक्त सजाय सुनाएको थियो ।

पीडित महर्जन सहितको टीमले फरार रहेका पण्डित हेटौंडामा लुकिछिपी बसेको भन्ने सूचना अखबारहबको टिमलाई जानकारी गराएका थिए । विशेष सूचनाको आधारमा अखबार हवको टिम र पीडितको सहकार्यमा आज (शुक्रबार) पण्डितलाई हेटौंैडा–४ अजरअमर रोडमा फेला पार्न सफल भयौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई खबर गरौं । खबर प्राप्त गर्ना साथ मकवानपुर प्रहरीले पण्डितलाई पक्राउ गर्यो ।

पीडित महर्जनका अनुसार आज भन्दा करिब ८ वर्ष अघि साथी कैलाश महर्जनमार्फत् मुक्तिनाथसँग चिनजान भएको थियो । चिनजानसँगै घरमा आवातजावत भइरहने पण्डितसँग आफ्नो घनिष्टता बढ्दै गएको उनले सुनाए ।

‘त्यस समय म घर बनाउन पैसाको खोजीमा थिएँ । मेरो नाममा भएको मनमैजु ७ मा रहेको १.५ रोपनी जग्गा राखेर ऋण मिलाइदिने भनेपछि मलाई उनी ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । होला तनि भनेर उनले भने बमोजिम मैले उक्त जग्गा फिर्ता हुने सर्तमा उसको नाममा मञ्जुरीनामा गरिदिएँ । उसले नजिकै रहेको कृषि विकास बैंकबाट ऋण निकाली सम्पर्कविहीन भए । पछि बैंकबाट फोन आउँदा मात्र थाहा पाएँ पण्डितले जग्गा धितो राखी उक्त बैंकबाट ५५ लाख ऋण लिएका रहेछन् ।’ उनले अखबारहब टिमलाई सुनाए ।

मुक्तिनाथ पण्डितको ठगि धन्दामा फसेका महर्जन मात्र रहेनछन् । उनी पक्राउ भएको सूचना बाहिरिन साथ हामीलाई पण्डितबाट ठगिएका अर्का व्यक्ति आफू ठगिएको भन्दै गुनासो गर्न आइपुगे । गुनासो गर्नेमा तार्केश्वर नगरपालिका वडा नं. ९ बस्ने राधेश्याम बस्नेत पनि एक हुन् । आफ्नो तार्केश्वरमा रहेको ८ आना २ पैसा जग्गा धितोमा राखी ऋण मिलाइदिने भन्दै पण्डितले ठगेको उनको आरोप छ । आर्थिक अवस्था कमजोर रहेका बस्नेतले फिर्ता गर्ने शर्तमा मुक्तिनाथ पण्डितलाई जग्गा राजिनामा पास गरी दिएका रहेछन् ।

टाइम्स सेभिङ एण्ड क्रेडिट लि. खिचापोखरी काठमाडौंमा रहेको सहकारीबाट सहकारीकै अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र पण्डितको मिलेमतोमा उक्त जग्गा धितो बन्धक राखी ४२ लाख ऋण निकालेको बस्नेतले बताए । ¬उक्त ऋण लिए पश्चात विभिन्न बाहनामा पण्डित सम्पर्कमा नआएको उनले आरोप लगाए ।

पण्डितबाट ठगिने महर्जन र बस्नेत प्रतिनिधि पात्र मात्र भएको पीडित स्वयम्ले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार रहेका अभियुक्त आफूहरुको नियन्त्रणमा रहेको र भोलि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पुर्याइने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*