हेटौंडा–काठमाडौं सुरुङमार्ग योजना डेढ करोड खर्च गरेर खारेज, अर्को तीन वटाको अध्ययनका लागि एक करोड विनियोजन

अखबार हब
२०७९ असार २४, शुक्रबार ११:१०

मकवानपुर । बागमती प्रदेश सरकारले डेढ करोड सकाएपछि हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना खारेज गरेर फेरि नयाँ सुरुङमार्ग अध्ययनका लागि एक करोड विनियोजन गरेको छ । गौरवको आयोजनाका रूपमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ४४ महिनासम्म अघि बढाएको सुरुङमार्ग स्थगित गर्दै अहिलेको गठबन्धन सरकारले नयाँ तीन सुरुङमार्ग अध्ययनका लागि बजेट छुट्याएको हो । एमालेका पौडेललाई विस्थापन गरेर हाल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष ७९/८० को बजेटमा सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि भन्दै एक करोड १० लाख छुट्याएको छ । चोभार (काठमाडौं)–हेटौँडा, खुर्कोट–चियाबारी (सिन्धुली) र हुग्दीखोला (धादिङ)–शक्तिखोर (चितवन) जोड्ने तीन सुरुङमार्ग निर्माण योजना नीति तथा कार्यक्रममै समेटेको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले चोभार–हेटौँडा र खुर्कोट–चियाबारी सुरुङमार्ग संघीय सरकारअन्तर्गतको सडक डिभिजनले सम्भाव्यता अध्ययन गरिरहेको छ । त्यस्तै, हुग्दीखोला–शक्तिखोरको सम्भाव्यता अध्ययन प्रदेश सरकारले गर्ने तयारी गरेको छ ।

अघिल्लो सरकारले ल्याएको हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना भने मन्त्रिपरिषद्बाट निर्णय गरी संसद्लाई जानकारी गराएर खारेज गरेकोे थियो । उक्त आयोजनाको डिपिआरका लागि डेढ करोड खर्च भएको थियो । तत्कालीन मुख्यमन्त्री पौडेलले लगतार तीन आर्थिक वर्षसम्म बजेट छुट्याए पनि कामले गति लिन नसक्दा आयोजना डिपिआरमै सीमित रहेको थियो । यो आयोजनालाई पौडेलले ०७५/७६ बाटै गौरवको योजनामा समेट्दै आएका थिए । डिपिआरका लागि ०७६/७७ मा एक करोड ३० लाख खर्च भएको थियो । तर, काम अघि बढाउन नसक्दा ०७७/७८ मा छुट्याएको एक अर्ब फ्रिज भएको थियो । चालू आव ०७८/७९ मा ७५ करोड विनियोजन गरेको थियो, जसबाट दुई कर्मचारीको तलब–भत्तामा मात्रै आठ लाख ५५ हजार खर्च भएको छ ।

मन्त्रालयका प्रवक्ता सिंहले योजना खारेज गरिए पनि साढे एक करोड खर्चिएर बनाइएको डिपिआर अभिलेखका रूपमा राखिने बताए । ‘वर्तमान सरकारले स्थगित गरे पनि हेटौँडा–काठमाडौं सुरुङमार्गमा पछि आउने सरकारले चासो राख्न सक्छ,’ उनले भने, ‘त्यसैले यसलाई अभिलेखको रूपमा सुरक्षित राखिनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*