एसपीपीमा म संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउनुहोस् : ओली

अखबार हब
२०७९ असार २०, सोमबार १४:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा सहभागिता रहनेगरी पत्राचार गरेको बताएका छन् । संसदमा समय लिएर सोमबार संबोधन गरेका ओलीले आफूले अमेरिकाबाट नेपाल एसपीपीमा सामेल भएको भन्ने रिपोर्टपछि आफूले नै रोकेको बताए ।

“सेप्टेम्बर १० २०१५ अर्थान नेपालको संविधान जारी हुनुभन्दा १० दिन अगाडी रक्षा मन्त्रालयलाई नेपाली सेनाले एसपीपीमा सहभागि हुने विषयमा अनुमति माग्दै पत्र लेखेको रहेछ । त्यसपछि सेप्टेम्बर २०, २०१५मा नेपालको संविधान जारी भएको थियो । त्यसको तीन दिनपछि २३ सेप्टेम्बरमा रक्षा मन्त्रालयबाट पत्र पठाएर एसपीपी सम्बन्धी पत्र दिने भने अनुमति दिइएको रहेछ । त्यसको एकहप्ता पछि सेप्टेम्बर २०मा रक्षा मन्त्रालयबाट नेपाली सेनालाई पत्र पठाउन अनुमति दिएर पत्राचारको अनुमति दिएको देखिन्छ,” ओलीले संसदमा भने, “मैले बाहिर बाहिर सुन्छु नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने संस्था होइन । तर, किन आयो भने सेनाले सोझै विदेशी दुतावासमा पत्राचार गर्‍यो , सेनाले त्यसरी आफै पत्राचार गर्दैन ।”

उनले त्यसपछि एसपीपीको विषयमा चर्चा नभएको बताए ।

“मैले भनिरहनु पर्दैन । संविधान जारी हुँदा प्रधानमन्त्री को थियो, असोज ६ गते मन्त्रीस्तरीय निर्णय गर्दा रक्षामन्त्री प्रधानमन्त्री को थियो । त्यसवेलाका सचिव अहिले त उहाँ पत्राचार गराउँदा जानकारी गराइएको थियो भन्नुहुन्छ । यस कुराको सत्य तथ्यको सम्बन्धमा तत्कालिन सेनापति राजेन्द्र क्षत्रीसँग कुरा गरे हुन्छ,” ओलीले भने, “म संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउनुहोस् ।” उनले अहिले सरकारमा भएका पार्टीका नेताले एसपीपी जस्तो गम्भीर विषयलाई ख्यालठट्टाको विषय बनाएको टिप्पणी गरे ।

“राष्ट्रको सार्वभौमसत्तामा आँच आउने विषयमा ख्यालठट्टा गर्ने ?,” ओलीले प्रश्न गर्दै भने, “गम्भीरतापूर्वक छानविन गर्नुपर्नेमा भ्रमपूर्ण प्रचारवाजी गर्ने ?” उनले प्रधानमन्त्रीलाई यसबारे सत्यतथ्य संसदलाई जानकारी गराउन माग गरे । उनले सरकारले एसपीपीमा सहभागि नहुने विषयमा पत्राचार गरेको भन्दै प्रचार भएको भन्दै कुन मितिमा कुन संयन्त्रबाट पत्र पठाएको पनि जानकारी गराउन माग गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*