अविरल वर्षाको कारण डुवानमा निजगढ, चौकीमा बाढी पसेपछि प्रहरीलाई होटलको खाना

अखबार हब
२०७९ असार १५, बुधबार २३:०५

बारा । अविरल वर्षका कारण निजगढको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षसंगै आएको बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेससहित पुर्वपश्चिम लोकमार्गको शहिद चोक क्षेत्र लगायत विभिन्न स्थानका घर, पसल र कार्यालयहरु डुवानमा परेपछि जनजीवन प्रभावित बनेको हो ।

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल सहितको टोली पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका थिए ।

मंगलवार रातिदेखि लगातार परेको पानी पछि आएको भल बाढीले निकास नपाउँदा घर तथा पसल र कार्यालयहरु डुवानमा परेका हुन । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौं घर डुवानमा परेका छन् । बाढीका कारण शहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । राजमार्गको दायाँ बायाँ दुबैतर्फका अधिकांश घर, पसल र कार्यालयहरु डुबानमा परेका छन् ।

बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाँडाकुडा बगाएको प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए । बाढी र डुवानले मेस संचालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीहरुलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिए। कार्यालयको मुल गेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरुले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर पछाडिपट्टीबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्रीहरु बगाएको छ ।

त्यसैगरी रोशन इन्टरप्राइजेजको मोटरसाइकल मर्मत कोठा पनि डुवानमा परेको छ । माथिल्लो क्षेत्रबाट आएको पानीले निकास नपाउँदा डुवानको समस्या भएको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लामाले बताए। उनले नगरपालिकाको जेसिबी प्रयोग गरेर पानी निकास गर्ने प्रयास भइरहेको जानकारी दिए ।

यसैबीच बाढीले पुर्वपश्चिम राजमार्गमा दिउसो केहीबेर यातायात समेत अवरुद्ध बनेको थियो । जमुना पैनी र राजमार्गको लच्काबाट बाढी पसेपछि यातायात अवरुद्ध बनेको हो । जमुना पैनीमा आएको बाढी कलभर्ट माथिबाट बग्न थालेपछि सडक अवरुद्ध बनेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*