जङ्गली जनावरले आक्रान्त मनहरीका बासिन्दा
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा जङ्गली जनावरले कारण आक्रान्त बनेका छन् । यस क्षेत्रमा लगाइएका बालिमा वन्य जन्तुले नष्ट गरेसँगै मनहरी १ का बासिन्दा यति बेला आक्रान्त बनेका हुन् ।
यस भेगमा पछिल्लो समय जङ्गली जनावरको आतंक दिन दिनै बढ्दो छ । पर्सा राष्ट्रिय निकुञ्ज परिसरमा पर्ने यस भेगमा ११ सय घर धुरी बसोबास गर्ने गरेका छन् ।
यस क्षेत्रका बासिन्दाको दैनिकि विगत ५ वर्ष यता जंगली वन्य जन्तु कुरेरै वितिरहेको छ । जङ्गली बदेल, बादरले दिनहु जसो स्थानीयको वर्ष भरी खाने बाली नष्ट पारिरहेको छ ।
‘सरकारले खेतबारी बाजो नराख भन्छ, बाली लगायो बादरले सिध्याउँछ हामी के गर्ने ?’ स्थानीय किसान विष्णुप्रसाद सुवेदी दुखेसो गर्दछन् । अर्का किसान बद्री उप्रेती भन्छन् ‘अहिले हामीले धान, मकै, केरा, आँप लगाएका छौं । जङ्गली जनावरले सबै नष्ट गरिसक्यो यस विषयमा नत स्थानीय सरकारले चासो दिएको छ, न निकुञ्जले वास्ता गरेको छ ।’ सम्बन्धीत निकायलाई यस समस्याको सामाधान गरि उचित राहत व्यवस्थान गरिदिन अनुरोध गर्छन् ।
स्थानीय किसान कृष्णप्रसाद बर्तौला भन्छन् ‘बिहान उठे देखी बेलुका सम्म बादर कुरेर बस्नु पर्छ । बादरले आफ्नो बाली नष्ट गरिरहेको देख्दासमेत हेरेर बस्नु पर्ने बाध्यता छ । बादरलाई ढुङ्गा हानेको देख्यो भने निकुञ्जको सुरक्षामा बसेका आर्मीले गाली गर्ने गरेका छन अब हामी के गर्ने ? सम्बन्धित निकायको बेलैमा ध्यान जाओस’– उनले भने ।










