हेटौंडामा अनलाइन जुवा खेलाउने अड्डामा प्रहरीको छापा, ११ जना प्रक्राउ

अखबार हब
२०७९ असार १४, मंगलवार २०:४७

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित एउटा घरको दुई तलामा अनलाइन जुवाको अड्डा रहेको तथ्य फेला परेको छ ।

रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिएर सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नाम कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले छापा मारेको थियो । अनलाइन जुवा चल्ने डेरामा छापा हान्दा ११ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका सबै जुवा खेल्नेहरु हुन् । प्रहरीले जुवा खेलाउने कम्पनीका सञ्चालकलाई भने पक्राउ गर्न सकेको छैन । डीएसपी कार्कीका अनुसार मुख्य अभियुक्त फरार छन् । अनुसन्धानकै क्रममा रहेकाले मुख्य अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रहरीले हेटौँडा–९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्य, हेटौँडा–४ कमलडाँडा बस्ने २४ वर्षीय राजिव गौतम, ११ नम्बर वडा बस्ने २७ वर्षीय मधुकर बानियाँ, १४ नम्बर वडाको चुरियामाई बस्ने २४ वर्षीय निमा थिङ, १२ नम्बर वडा बस्ने २३ वर्षीय विकास बल, मनहरी गाउँपालिका–४ बस्ने २० वर्षीय जोसिल खत्रीलाई पक्राउ गरेको हो ।

गोरखा पालुङटार नगरपालिका–७ का २२ वर्षीय डुलास तामाङ, पालङटारका २० वर्षीय तिकमान तामाङ, पालङटारकै २१ वर्षीय राजु तामाङ, पालुङटार–८ का २५ वर्षीय अमोश तामाङ, बाराको निजगढ नगरपालिका–४ का २० वर्षीय अर्पण खड्का पक्राउ परेको डीएसपी कार्कीले जानकारी दिए ।

साथै प्रहरीले उक्त स्थानबाट अनलाइन जुवा खेलाउन प्रयोग गरिएको १ सय १० थान मोबाइल फोन, ५ थान डेस्कटप कम्प्युटर, ३ थान ल्यापटप, ४ थान राउटर र नगद १ लाख ४५ हजार ७५ रुपौंया बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*