मनहरीका दुग्ध उत्पादक किसानसँग अखबार हबको अन्तरक्रिया

अखबार हब
२०७९ असार ३, शुक्रबार २१:०१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका दुग्ध उत्पादक कृषकहरुसँग अखबारहब सञ्चार प्रा.लि.ले अन्तरक्रिया गरेको छ । शुक्रबार मनहरी १ मकरीमा रहेको क्षितिज दुग्ध उत्पादक सहकारी र कृषकहरुबीच अखबारहब सञ्चार प्रा.लि.ले अन्तरक्रियाको आयोजना गरेको हो ।

मनहरीका दुग्ध उत्पादक कृषकहरुले आफूहरुले बिक्री गरेको दूधको क्षितिज दुग्ध उत्पादक सहकारीले उचित मूल्य प्रदान नगरेको भन्ने गुनासो आएसँगै अखबार हबले सहकारी र कृषकबीच अन्तरक्रियाको आयोजना गरेको हो ।

अन्तरक्रियाका प्रमुख अतिथि रहेका मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले क्षितिज सहकारीविरुद्ध पालिकामा उजुरी परेको र यसको छानबिन गरी किसानलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जाहेर गरेका छन् । आगामी आ.व.मा मनहरीमा रहेका किसानहरुलाई विशेष प्राथमिकतामा राखी बजेट ल्याउने तयारी भइरहेको उनले बताए ।

स्थानीय किसान दिपेन्द्र पौडेलको सभाध्यक्षमा भएको अन्तरक्रियामा क्षितिज दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष देवराज भण्डारी, मनहरी–१ का वडाअध्यक्ष शिवप्रसाद खनाल, वडा सदस्यहरु सेतीमाया तामाङ, सावित्री घिमिरे, सानुकान्छा तामाङ, दिपक ढकाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका लेखापाल सन्तोष घिमिरे, प्राविधिक गोविन्द प्रसाद तिमल्सिना, जनसेवा दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक रामहरी पोखरेल र स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अखबार हब सञ्चार प्रा.लि.का प्रबन्ध निर्देशक दीपेश दाहालको सहजीकरणमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*