सर्वोच्चको फैसला विरुद्ध निजगढ सरोकार समितिको रिले अनशन

अखबार हब
२०७९ जेष्ठ २४, मंगलवार २३:५८

बारा । सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल निमार्ण कार्य रोक्ने मौखिक फैसला गरे सँगै बाराको निजगढ बासी आन्दोलित बनेका छन् ।

फैसलाको विरोधमा विगत दुई हप्ता देखि सडकमा चक्काजाम र धर्ना दिदै आएको निजगढ सार्वजनिक सरोकार समिति र युवा विद्यार्थीहरुले मंगलवारको पूर्वनिर्धारित कार्यक्रम अनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि साँझ ५ बजेबाट रिले अनसन सुरु गरेका छन् ।

विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सरोकार समितिले आजबाट रिले अनशन सुरु गरेको हो ।

देशको आर्थिक विकासमा महत्वपूर्ण मानिएको निजगढ अन्तराष्ट्रिय विमानस्थल निजगढमा नबनाउन सम्मानित अदालतबाट आदेश आउनु गलत रहेको निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एक बहादुर श्रेष्ठले बताए । विकास निर्माणको काममा न्यायलयले रोक लगाउनु आफैमा आश्चर्यको विषय भएको श्रेष्ठको भनाई छ । अदालतको फैसला पुनरावलोकन नभए सम्म आन्दोलनलाई निरन्तरता दिने समेत उनले बताए ।

निजगढमा विमानस्थल नबन्नुमा देशि विदेशी शक्तिको हात रहेको आन्दोलन कर्ता बासुदेव तिमल्सिनाले बताए । ‘राज्यले लगानी गरिसकेको परियोजनामा सर्वोच्चले रोक्न खोज्नु चलखेल र षड्यन्त्र भएको पुष्टि हुन्छ ।  निर्णय नसच्चिए सम्म आन्दोलन जारी रहने छ ।’– उनले भने ।

आन्दोलनमा एक्यवद्धता जनाउन र सहभागी हुन सम्पूर्ण निजगढबासीलाई उनले अपिलसमेत गरेका छन् ।

निजगढ नगरपालिकाकी निवर्तमान उपप्रमुख लिलादेवी लामिछाने, पदमबहादुर भण्डारी, कृष्ण खरेल, खड्क प्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भीम प्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ्ग, आशा चौलागाईं लगायत १४ जना अनशनमा सहभागी रहेका छन् ।

अनशनकर्ताले अन्न र पानीसमेत नखाई २४ घण्टासम्म पालैपालो रिले अनशन बस्ने आन्दोलनकर्ता भोलाप्रसाद गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*