थाहा नगरको विकास गर्न सबैसँग सहकार्य गर्छु : नगर प्रमुख बिष्ट

अखबार हब
२०७९ जेष्ठ २०, शुक्रबार १९:५७

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको समग्र विकासका लागि सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख बिष्णु बहादुर बिष्टले बताएका छन् ।

नगर प्रमुख बिष्टले थाहा नगरको समृद्धिको लागि प्राप्त सकारात्मक सुझावहरुको कार्यान्यनको लागि आफु प्रतिबद्ध रहेको समेत बताए ।

थाहा नगरका स्थानीय युवाहरुले थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख समक्ष ध्यानाकर्षण पत्रसहित विकासको साँचो बुझाउने कार्यक्रममा प्रमुख बिष्टले बजेट सिलिङको आधारमा समेट्न सकिने योजनाहरु कार्यान्वयन गर्ने बताए।

शुक्रबार युवाहरुले नगरप्रमुख बिष्णु बहादुर बिष्टको कार्यकक्षमा पुगेर ध्यानाकर्षण पत्र र साँचो बुझाएको स्थानीय युवा बिक्रम केसीले जानकारी दिए।

ध्यानाकर्षण पत्रमा थाहा नगरपालिकाको समग्र क्षेत्रको विकासको लागि स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, “बागमती प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौबाट समदुरीमा रहेको थाहा नगरपालिका कृषि, धार्मिक, पर्यटन क्षेत्रको सम्भावना प्रचुरमात्रामा रहेको तथा तत्कालिन आग्रा, दामन, पालुङ, टिस्टुङ, बज्रबाराही, चित्लाङ गाबिस मिलेर बनेको नगरपालिका बत्तिमुनिको अँध्यारो भएको छ ।”ध्यानाकर्षण पत्रमा थाहा नगरको मुल नारा “कृषि, पर्यटन र पुर्वाधार, थाहा नगरको बिकासको आधार” नारामा मात्र सिमित भई कृषिमा रासायनिक मलको अभाव, पर्यटनमा पहाडको रानी भनेर चिनिने दामन सिमभन्ज्याङ क्षेत्र अस्तब्यस्त, कृषि बजारको अभाव, बीउ, सिँचाइको प्रयाप्त मात्रामा ब्यबस्था नहुनु र थाहाको समृद्धिको नारा चुनावी नारामा मात्र सिमित नहोस भन्दै ध्यानाकर्षण गरिएको छ ।

आगामी ५ बर्षमा थाहाका जनताले महसुस हुने गरि दीर्घकालिन फाइदा तथा रोजगारीको अबसर सृजना गरि औद्योगिकरण गर्दै अव्यवस्थित रुपमा भएका सडक ब्यबस्थित गर्दै उत्कृष्ट नगर बनाउन नगरबासी, प्रदेश, संघ तथा अन्तर्राष्ट्रिय स्तरमा हातेमालो गर्दै, अग्रजको अनुभव, युवाहरुसँग सहकार्य र हातेमालो गर्दै दीर्घकालीन योजना र छनौट गर्न ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।

कार्यक्रममा स्थानिय युवा बिक्रम केसी, राजन प्रसाद ढकाल, उद्धव विडारी, अनिल लामा, युगल ढकाल, बद्री ढकाल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

ध्यानाकर्षण पत्र र विकासको साँचो बुझ्दै नगरप्रमुख बिष्टले युवाहरुको दिएकोे सकारात्मक सुझावले आफुमा काम गर्न उर्जा मिल्ने बताउँदै, आगामी ५ बर्ष देखिने काम गर्ने बताउँदै बिकासको साँचो र ध्यानाकर्षणले विकासको ढोका खोल्न युवाहरुको साथ र सहयोग आवश्यकता रहेको बताए।

बिष्टले युवाहरुको मागमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै युवाहरुले उठाएका योजनाका बिषय कार्यपालिका बैठकमा समेत छलफल गरिने बताए ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपालीको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*