खेतीयोग्य जमिन बाँझो राखे एक लाख जरिवाना !
काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो ।
नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो कसूर गरेमा एक लाख रुपैयाँ जरिवाना लाग्नेछ ।
उक्त नियमावली अनुसार सरकारले जग्गाको उपयोगको आधारमा १० क्षेत्रमा वर्गीकरण गर्नेछ । यस अनुसार भूवनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको हाल भइरहेको उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र,आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र, र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र भनी भूमिको वर्गीकरण हुनेछ ।
यो वर्गीकरण परिवर्तन गरेमा पनि जरिवाना लाग्ने र त्यस्तो जग्गा साविक बमोजिमकै कायम गर्न सक्ने व्यवस्था पनि नियमावलीमा छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू– उपयोग नियमावली, २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नियमावली अनुसार निर्देशिका र कार्यविधि पनि छिटै बनाइने बताइन् ।







