जहाज दुर्घटनास्थलमा फेला परेको नगदसहितको सामान हस्तान्तरण

अखबार हब
२०७९ जेष्ठ १७, मंगलवार २०:४८

जोमसोम । आईतबार मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानोसरे पहाडमा दुर्घटनाग्रस्त तारा एअरलाईन्सको जहाजबाट लाखौं रुपैयाँ नगदसहित अन्य जिन्सी सामग्री फेला परेको छ। दुर्घटनास्थल र त्यस वरपर भेटिएको नगदसहितको जिन्सी सामग्रीहरु मंगलबार तारा एअरलाईन्स कम्पनीलाई हस्तान्तरण गरिएको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए।

पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको सानोसरे पहाडमा ठोक्किएर दुर्घटना भएपछि ३ दिनसम्म जहाज खसेको स्थान र शवको उद्दार गरिएको थियो। जहाजमा सवार चालक दलसहित २२ जनाको पुरै शव फेला परेपछि जहाजमा सवार यात्रुको साथमा रहेको नगद तथा जिन्सी सामानको खोज तलास र व्यवस्थापन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार जहाजमा सवार यात्रुको साथमा रहेको झन्डै ३ लाख नगद र अन्य जिन्सी सामान फेला परेको थियो। दुर्घटना भएको स्थानबाट भारतीय रुपैयाँ ५ सय, २ सय, १ सय र ५० दरको कुल ९० हजार १ सय, नेपाली रुपैयाँ एकमुस्ट १ लाख २४ हजार १ सय, युरो २० को १२ थान, युरो १० को ३ थान र युरो १ को १० थान नगद भेटिएको प्रजिअ शर्माले जानकारी दिए।

यस्तै जहाजमा सवार यात्रुले साथमा लिएर गएको पानासोनिक लुमिकस क्यामेरा थान १, कम्युटर ल्यापटप थान ३, तिलहरी थान १, घडी थान १, दराजको चावी थान २ र विदेशी पासपोर्ट थान ५ फेला परेको थियो।

जहाजमा सवार सबै यात्रुको शव व्यवस्थापनपछि नगदसहितको जिन्सी सामग्री थासाङ गाउँपालिका जनप्रतिनिधि, स्थानीय, प्रशासन, सुरक्षा निकाय र पत्रकारलगायतको राहबरमा तारा एअरलाईन्सका काठमाडौंका सिनियर मेनेजर राप्के छिरिङ शेर्पालाई हस्तान्तर गरिएको प्रजिअ शर्माले जानकारी दिए।

तारा एअरलाईन्स कम्पनीलाई हस्तान्तरण गरिएको नगदसहितको जिन्सी सामग्री मृतकको नजिकको आफन्त पहिचान गरी सामानको जिम्मा लगाउने सम्झौता भएको प्रजिअ शर्माले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*