काठमाडौंमै धम्की दिएर ७ करोड माग्ने सातजना पक्राउ
काठमाडौं । प्रहरीले धम्की दिएर सात करोड माग्ने सातजनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाएर सात करोड माग गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हाल गोठाटार बस्ने उदयुपरको त्रियुगा–१० का २१ वर्षीय सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोट सान्नित्रिवेणी–८का २९ वर्षीय टेक बिक, कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना–७ का २९ वर्षीय धर्मराज थापा, काँडाघारी बस्ने काभ्रेपलाञ्चोक तेमाल–२ का ३३ वर्षीय उमेश भण्डारी छन् । यसैगरी, हाल रातोपुल बस्ने धुरकोट–२ की २९ वर्षीया वसन्ता खनाल, सिनामंगल बस्ने गल्मीका ३२ वर्षीय सुरज शर्मा र सिनामंगल बस्ने काठमाडौं–९ का ३३ वर्षीय श्रवण कार्की पक्राउ परेका हुन् ।
उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले शुक्रबार जानकारी दिएका छन् ।







