के होला गठबन्धन ?
मकवानपुर । स्थानीय तह निर्वाचनको मतपरिणामसँगै राजनीतिक दलहरु बीचको नाफाघाटाको हिसाब चलिरहेको छ । कुन दल पहिलो बन्ने मात्रै होइन, अहिलेको परिणामले आगामी निर्वाचनमा को सँग तालमेल गर्ने भन्ने विषयमा पनि चर्चामा छ ।
बैशाख ३० मा मतदान सकिएर मुलुक स्थानीय तह निर्वाचनको मतपरिणाममा केन्द्रित भइरहेका बेला करिब पाँच सयको हाराहारीमा पालिकाहरुको नतिजा सार्वजनिक भएको छ । ठिक यसैबेला पाँच दल एक भएर चुनावमा होमिएको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कति सफलरु भन्ने प्रश्न अघिल्तिर छ ।
गठबन्धनले काँग्रेसलाई फाइदैफाइदा र त्यही गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)लाई हर्षभन्दा विस्मात धेरै भइरहेका छ । यस्तो बेला गठबन्धन कायमै रहेर आगामी संसदीय निर्वाचनसम्मै जानसक्ने सम्भावनामाथि नै प्रश्न छ ।
अहिलेको परिणामलाई हेर्दा स्थानीय निर्वाचनमा काँग्रेस पहिलो हुने सम्भावनामा शंका छैन । गठबन्धनकै बलमा काँग्रेसले यसको अवसर पाएको नकार्न पनि मिल्दैन । फलतः आगामी संसदीय निर्वाचनमा समेत गठबन्धन बनाएर जानुपर्ने मत काँग्रेस नेताहरुको देखिन्छ । तर अहिले परिणामले नेकपा एकीकृत समाजवादीलाई चैन दिएको छैन् ।
पार्टी निर्माणकै चरणमा रहेको र स्थापित हुने प्रथम अवसरमै अपेक्षाकृत मत नआएपछि ‘पहिलो गाँसमै ढुंगा’ भएको छ । समाजवादीले यसको समीक्षा गर्ने मात्रै होइन, गठबन्धन उत्साहजनक नभएको भन्दै समीक्षा गर्न तयारी गरेको छ । तर सुरुआतमा हतोत्सहित बनाए पनि नेकपा माओवादी केन्द्रलाई मतपरिणामले उत्साहित बनाउने काम गरिरहेको छ ।
हालसम्म तेस्रो धेरै मत ल्याएको माओवादीले गठबन्धन बनाएरै संसदीय चुनावमा भाग लिने संकेत गरेको छ । सुरुआत परिणामका बेला माओवादीकै काँधमा चढेर काँग्रेसले तारो टिपेर चारो हाल्ने काम गरेको बताउने नेताहरुसमेत अहिले हर्ष बढाइमा लागि परेका छन् । भरतपुरकै नतिजा अनुसार गठबन्धनको भविष्य आँकिने संकेत देखिएका बेला माओवादीहरु गठबन्धन प्रत्युत्पादक होइन, अहिले उत्पादक देखिरहेका छन् । माओवादी जुनशक्तिसँग मिलेपनि राष्ट्रिय राजनीतिमा तेस्रो नै हो । हिजो एमालेसँग मिल्दा तेस्रो भएको माओवादी काँग्रेससँग मिल्दा पनि तेस्रो नै बन्दैछ । तर योपालीको परिणामबाट एमालेरक्षात्मक अवस्थामा थन्किने पक्का छ ।
अब संसदीय निर्वाचनमा तालमेलका लागि माओवादी, समाजवादी लगायतका दललाई गुहार्ने कि एक्लै सामना गर्ने तीब्र तयारी चलेको छ । निर्वाचनमा जाँदा तालमेलको निर्णय भएपनि कांग्रेस र अन्यबीच सिमित ठाउँमा मात्र गठबन्धन सफल भयो । कुनै स्थानमा एकले अर्कालाई मत दिएका छैनन् । गत स्थानीय चुनावमा काँग्रेससँग तालमेल गरेको माओवादीले संघीय निर्वाचनमा एमालेसँग गरेको थियो । तेस्रो नै सही माओवादी अब पनि निर्णायक शक्ति बन्ने पक्का छ ।







