वडाअध्यक्ष उम्मेदवार लामिछानेद्वारा मतदातालाई मताधिकारबारे सूचित
धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर १२ का वडाअध्यक्ष पदका उम्मेदवार मोहनप्रसाद लामिछानेले स्थानीय तहको निर्वाचनको सन्निकटमा मतदातालाई सूचित गराएका छन् ।
उम्मेदवार लामिछानेले आचारसंहिता लागू हुनुपूर्व सामाजिक सञ्जालमार्फत मताधिकार बारे मतदाताहरूलाई सचेत गराएका हुन् । उनले मतादाताहरूलाई आफ्नो विवेकको प्रयोग र अधिकारको बारेमा ध्यानाकर्षण गर्दै मतको दूरगामी प्रभाव बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा मतदातालाई यसरी मताधिकारको बारेमा लेखेका छन्, ’समादरणीय नगरबासी तथा वडाबासी आमा–बुवा, दाजु–भाइ तथा दिदीबहिनीहरू !
हामी स्थानीय तहको निर्वाचन– २०७९ को सन्निकटमा आईपुगेका छौं । लोकतन्त्रको सबैभन्दा सुन्दर र पर्यायविधि वालिग मताधिकार प्रयोग गर्ने ऐतिहासिकघडीको मुखमा पुगिरहँदा त्यसको समुचन प्रयोग र प्रभावमाथि हामी गम्भीर हुनुपर्ने छ ।
मत दिनु एक सामान्य र क्षणिककार्य पक्कै होला, यद्यपि त्यसको दूरगामी प्रभावबारे आमसर्वसाधारणले त्यतिधेरै चिन्तन–मनन गरेको विरलै छ । निर्वाचनको पूर्वसन्ध्यामा म के कुरा स्पष्टसँग गराउँछु भने हामीले प्रतिनिधित्व छान्ने, जनसेवा प्रदान गर्ने र असलप्रशासन सञ्चालनको निम्ति तपाईंहरूले ३ वटा कुरालाई केन्द्रमा राखी सोहीबमोजिमको मतदान गर्न सूचित/आग्रह गर्दछु ।
१) उम्मेद्वार साधारण र सबैको पहुँचमा बस्ने तथा सल्लाह–सुझाव मनन गर्ने
२) विकासप्रेमी, नवीनयोजना र रचनात्मककार्यको परिकल्पना गर्ने
३) आर्थिक तथा चारीत्रिक अनुशासनमा एवम् प्रदेश र केन्द्रीयसरकारसँगको समन्वयकर्ता हुनु आवश्यक छ ।
माथिका गुणको अन्वेषण, प्राप्तिको सार्थकता र परिमाणताको लेखाजोखा र त्यसको मूल्याङ्कन गर्ने जनताजनार्दनको व्यवहारिक उपयोग गर्ने महान् दिनको सन्निकटमा आईपुग्दा मैले विगत ५ वर्षमा यस पालिका तथा वडामा त्यसखालको भूमिका र प्रयत्न सकेसम्म गरेँ भन्नेलाग्छ ।
यद्यपि कुनै गल्ती वा कमजोरी अझै पनि होलान्, काम गर्ने क्रममा सुधार गर्दै त्यसको न्यूनीकरण गर्नुपर्छ भन्ने लाग्दछ । हामी विभिन्न वाद, विचार, दल र दृष्टिबाट फरक–फरक कित्तामा उभिएको भएपनि स्थानीयता, स्वशासन र सामूहिक स्वार्थप्राप्तिमा यी तमाम विधाबाट माथि उठ्नसक्ने अपेक्षा तथा विश्वाससहित आसन्न निर्वाचनमा यस धुलिखेल नगरपालिकामा मेयर पदका उम्मेद्वार अशोककुमार ब्याञ्जु (श्रेष्ठ) को पूरै प्यानलसहित १२ नम्बर वडाका सबै उम्मेद्वारहरूलाई सान्दारमतले विजयी गराउनु हुनेछ भन्ने विश्वासका साथ पुनः अनुरोध गर्दछु ’ ।







