पालिकामा खुम्चिएको अधिकार अब वडामै : कालाखेती

अखबार हब
२०७९ बैशाख २७, मंगलवार ११:४९

मकवानपुर । मनहरी गाउँपालिकाको बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका रञ्जन कालाखेतीले स्थानीय तहलाई संविधानले दिएको अधिकार गाउँपालिकामा खुम्चिएको बताएका छन् ।

सोमबार मनहरी–५ मा भएको गठबन्धनको अन्तिम घरदैलो कार्यक्रम तथा कोण सभामा बोल्दै कालाखेतीले संविधानले दिएको अधिकारको पूर्ण पालना गर्दै सामान्य कामको लागिसमेत गाउँपालिका धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन् ।

यस अघिका नेतृत्वहरुले वडामा रहेको अधिकारसमेत पालिकामा केन्द्रीत गर्दा जनता मारमा परेको उनले बताए । आफू नेतृत्वमा आएसँगै उक्त अधिकार वडा वडामा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘वडालाई दिइएको सबै अधिकार वडामै राखेर अघि बढ्छौं । यसो हुँदा जनताले भोग्ने समस्या आधा कम हुन्छ । हामी निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदको समानान्तर विकास हुनेछ । व्यक्ति कहिले पनि हाबी हुने छैन । हामी सेवकका रुपमा रहनेछौं ।’, उनले भने ।

पूर्वाधारको पाटोमा राष्ट्रिय गौरवका योजना ल्याउने उनको भनाई छ । ‘जनताबाट लिएको राजस्व स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद सबै क्षेत्रमा लगानी गरिन्छ । यी क्षेत्रहरुमा जनताको पहुँच बढाइन्छ ।’ राज्यको कुनै सेवा सुविधा नलिने उनको भनाई छ । आफू सिंगो मनहरीबासीको प्रतिनिधित्व गर्दै पालिका अध्यक्षमा उम्मेदवारी दिएको र आफ्नो जीत नै सिंगो मनहरीको जीत भएको दाबी गरे ।

‘मैले आमाबुवाको आशिर्वाद, युवाको साथ र आम जनताको माया पाएको छु, अबको पुस्ताले भिजनसहितको युवापिढी रोजेका कारण मेरो जीत पक्का छ् ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*