प्रतिस्पर्धीले मेरो बारेमा भ्रम फैलाए – तिवारी
मकवानपुर । आसन्न निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारी दिएका अर्जुन तिवारीले प्रतिस्पर्धीहरूले आफ्नो बारेमा भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् ।
समाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मेरो बारेमा वडाका मतदाताहरूमाझ फैलाइएको हल्लामा कुनै सत्यता छैन, त्यस्ता हल्लाको पछि नलाग्न वडाका मतदातालाई आग्रह गर्दछु ।’
वडामा काँग्रेसको पक्षमा जनमत देखिएकोले प्रतिस्पर्धीहरूले अफवाह फैलाएर आफूलाई बदनाम गराउने दुस्प्रयास गरेको भन्दै वडाध्यक्षका उम्मेदवार तिवारीले यस्ता भ्रमको पछि नलाग्न र सचेत हुन सम्पूर्ण वडाबासीमा अपिल गरेका छन् । उनले यो पटक आफू वडाध्यक्षमा विजयी हुने र वडाबासीको सेवामा पूर्ण रूपले समर्पित हुने बताए ।
प्रतिस्पर्धी दलहरूले अर्जुन तिवारीले अन्य दललाई समर्थन गर्दै उम्मेदवारीबाट पछि हट्न थालेकाले आफूहरूलाई मत दिन आग्रह गरेको पाइएको प्रचारप्रसार संयोजक कुमार पोखरेलले बताए।







