मनहरी १ मा गठबन्धनको बृहत चुनावी अभियान
मकवानपुर । स्थानीय तहको निर्वाचनमा मतदान गर्न ६ दिन बाँकी रहँदा मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा शनिबार मनहरी १ को मकरी, चकरी, गोगनपानीलगायतको क्षेत्रमा घरदैलो तथा कोण सभा भएको हो ।
कोण सभामा बोल्दै गाउँपालिका अध्यक्षका प्रत्यासी रञ्जन कालाखेतीले आफूले घोषणा पत्रमा लेखेका कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिबद्धता पूरा नगरी वडामा पाइला टेके लखेट्न आग्रहसमेत गरेका छन् । कम्युनिष्ट जस्तो झुटको खेती गर्दैनौं, जे बोल्छु पूरा गरेर देखाउँछु उनले भने ।
नेपाली काँग्रेस(वीपी)बाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दिई फिर्ता लिएका शंकर न्यौपानेले आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउनका निम्ति आफूले उम्मेदवारी फिर्ता लिएको बताए । हामी एक छौं, दुविधामा नपर्नुस्, हामी सबै मिलेर गाउँपालिका जिताऔं, यसैमा म खुसी छु उनले भने ।
गठबन्धनको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्षका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षका उम्मेदवार सीता पुलामी मगर(रेखा) काँग्रेस नेता भरत पराजुली, शंकर न्यौपाने, जानकी लामा, जानुकी लामा वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल लगायत ६ सय जना नेता तथा कार्यकर्ताहरुको सहभागितामा घरदैलो तथा कोण सभा भएको काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाले बताए ।







