सार्वजनिक स्थानमा राखिएको दलको चुनाव चिन्ह तत्काल हटाउन निर्देशन

अखबार हब
२०७९ बैशाख २२, बिहीबार २०:५१

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको सूचना दर्ता बारेमा विभिन्न निर्णय गरेको छ ।

कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचार÷प्रसारमा संलग्न रहेको भनी उजुरी सूचना रहका ११ जना कर्मचारीहरुले स्पष्टीकरण पेश गर्न भई जानीनजानी केही कमजोरी भएको भए सो सच्याई आचारसंहिताको परिपालनामा पूर्ण प्रतिबद्धता जनाएकोले निजहरुलाई कुनै पनि दल र उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार/प्रसारमा संलग्न नहन, सामाजिक सञ्चालबाट चुनाव प्रचार सम्बन्धी सामाग्री तत्काल मेटाउन र निजहरुलाई आसन्न स्थानीय तह निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा नखटाउने निर्णय गरेको छ ।

यस्तै, आमसभामा एक जना पत्रकारले सम्बोधन गरेको भन्ने विषयमा निज पत्रकारले पत्रकारको हैसियतले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा आचारसहिंता विपरित समाचार सम्प्रेषण नगरेको र आचारसंहिता परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको कुरालाई मध्येनजर गर्दै निजलाई आचारसंहिता परिपालनामा सजग रहन निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले सार्वजनिक स्थानहरुमा दलको झण्डा र चुनाव चिन्ह राख्ने दल र उम्मेदवारहरुलाई तत्काल सार्वजनिक स्थानहरुबाट सो हटाउन निर्देशन दिने, निजी घरआवासहरुमा सम्बन्धित घर धनीको अनुमतिविना टासिएका पम्प्लेट तत्काल हटाउन सम्बन्धित दललाई निर्देशन गर्ने, सार्वजनिक यातायातमा राखिएका झण्डा र चुनाव चिन्ह, तत्काल हटाउन लगाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*