गफ हैन काम गरेर जनताको मन जित्छु : मेयर उम्मेदवार पौडेल
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले ठुला ठुला गफ गरेर नभई जनताको बिचमा काम गरेर जनताको मन जित्नुपर्ने बताउनुभएको छ ।
हेटौंडा–१५ मा भएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले हेटौंडा–१५ मा २०७४ सालमा एमाले पराजित भएपनि जनताको बिचका रहेर काम गरेका सुनिल मोक्तानलाई नै एमालेले वडा अध्यक्षको उम्मेदवार बनाएकाले यस पटक एमालेको जीत पक्का भएको उहाँले बताउनुभयो ।
एमालेले हेटौंडाबासीहरुको आधारभूत आवश्यकताहरुको सम्बोधन गर्दै खानेपानी, शिक्षा लगायतका क्षेत्रमा उल्लेख काम गरेको र अझै यसलाई अगाडि बढाउन घोषणापत्रमा नै उल्लेख गरेर अगाडि बढेकाले सबै जनताले एमाले नै रोजिरहेको उहाँको भनाई छ । अरु समय जनताको बिचमा नहुने र चुनाव आएपछी गाला चिल्लो बनाउँदै र घोषणापत्रमा ठुलाठुला गफ दिएर चन्द्रमामा नै पुल हाल्दिन्छु झैं गरेर आउनेहरु फटाहा भएका र अबका जनताले यस्ता गफ नपत्याउने समेत पौडेलले बताउनुभयो । अब हेटौंडालाई पर्यटकहरुको बास बस्ने गन्तव्यको रुपमा बिकास गर्ने र मकवानपुरभरको पर्यटकीय स्थलहरुको भ्रमण गर्न सक्ने ब्यवस्थाहरु मिलाउने गरि काम गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ ।
उहाँले अहिले एमालेको विरुद्धमा उत्रिएको गठबन्धन नभई बिलखबन्धनमा भएको बताउनुभएको छ । जीन्दगीभर पार्टी बनाएर चुनावमा भने आफ्नै चिन्हमा भोट हाल्न नपाएर अहिले गठबन्धनका कार्यकर्ता रोइरहेको पनि उहाँले बताउनुभयो ।
यस्तै उपमेयर पदका उमेदवार सुमित्रा काफ्लेले बिजयी भएपछि भौतिक बिकास सङसङै स्वास्थ्य, शिक्षा, कृषिलगाउयतका क्षेत्रमा पनि कार्यक्रम संचालन गरीने बताउनुभयो । वैदेशिक रोजगारीलाई न्यूनीकरण, महिला सशक्तीकरणपनि आफुहरुको मुल एजेन्डा भएको काफ्लेको भनाई थियो ।
एमालेका १५ नम्बर वडाध्यक्षका उम्मेद्बार सुनिल मुक्तानले गएको निर्वाचनमा आफू पराजित भएपनी सामाजिक काम नछोडेको बताउनुभयो । वडाको समस्या नजिकबट बुझेको कारण पनि आफुले यो पटक जित्ने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य बलराम बल, नेता श्रीधर पोख्रेललगायतले बोल्नुभएको थियो ।







