थाहामा माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक

अखबार हब
२०७९ बैशाख २१, बुधबार २०:३४

मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नगरको विकासका लागि गर्ने कार्यहरुसहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार लवशेर बिष्ट मेयर पदमा निर्वाचित भएसँगै नगरको विकासमा उल्लेख्य कार्य भएको र राष्ट्रिय स्तरमा उत्कृष्ठ नगर भएकोले आगामी निर्वाचनमासमेत माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन नगरकमिटि अध्यक्ष बिनोद कुमार लामाले आग्रह गरेका छन् ।

माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगरको मूख्य सम्भावना रहेको क्षेत्र कृषि र पर्यटनलाई सम्मनजनक पेशाको रुपमा विकास गराई प्रबिधिमा जोडेर युवालाई आकर्षित गर्ने उल्लेख छ ।

प्रतिबद्धता पत्रमा थाहा नगरलाई देशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने र स्वास्थ्य सम्बन्धि जनशक्ति उत्पादनको लागि नगरमै मेडिकल कलेजको स्थापना गर्न पहल गर्ने, महिला स्वास्थ्यकर्मीहरुलाई सम्मनजनक सुविधाको ब्यवस्था गर्नुका साथै प्रत्येक वडामा सुविधासहितको बर्थिङ सेन्टरको स्थापना गर्ने र नगरका सम्पूर्ण परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउन पहल गर्नेसमेत उल्लेख गरिएको छ ।

साथै थाहा नगरलाई शुन्य गरिबी नगर बनाउनको लागि गरिब परिवार पहिचान गरी गरिब, दलित तथा पछाडि पारिएकाहरुलाई आयआर्जन मूलक कार्यमा प्राथमिकताका साथ लगाईने र दक्ष जनशक्ति तयार गर्न सीपमुलक तालिमहरुको ब्यवस्था गर्ने उल्लेख गरिएको छ ।

कृषि क्षेत्रको विकासको लागि सिंचाईको उपयुक्त ब्यवस्थासहित कृषिजन्य उत्पादनको प्रशोधन र प्रवर्धनका लागि लघुउद्यम सञ्चालन गर्ने र खेती योग्य जमिनको संरक्षण गरी कम उत्पादन हुने क्षेत्रमा बस्तीको विकास गर्ने नीति माओवादी केन्द्र थाहा नगरको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

प्रतिबद्धता पत्रमा एक घर एक धाराको नीति अन्तरगत बाँकी रहेका वडाहरुमा तीन बर्ष भित्र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, ५० बर्ष माथिका सबै नागरिकहरुको पूर्ण स्वास्थ्य जाँच गरी तथ्यांक राख्ने र जेष्ठ नागरिकहरुलाई अनुकुल हुनेगरी टोलटोलमा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने उल्लेख छ ।

शान्ति सुरक्षा नागरिकको प्रमुख अधिकार भएकोले मूख्य वजार क्षेत्रमा सिसि क्यामेरा राखिने, नगरमा रहेका धार्मिक, पुरातात्विक,ऐतिहाँसिक संरचनाहरुको संरक्षण गरी प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकास गरिने योजना प्रतिबद्धता पत्रमा रहेको छ ।

प्रतिबद्धता पत्रमा अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धताहरु अधिकांश पुरा भएको र केही पुरा हुने अन्तिम चरणमा रहेकोले समग्र थाहा नगरको विकास र समृद्धिको लागि नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*