राहुल गान्धी काठमाडौंमा क्लब छिरेपछि भारतमा हंगामा !

अखबार हब
२०७९ बैशाख २०, मंगलवार १७:१५

काठमाडौं । व्यक्तिगत काम (विवाह भोजमा सरिक हुन)का लागि नेपाल आएका भारतीय कांग्रेसका नेता राहुल गान्धी सोमबार राति काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा पुगे। क्लबमा उनले रातको केही समय बिताए। साथीभाईसँग रमझम गरे।

गान्धीले क्लबमा पुगेको दृश्यलाई कैद गरिएको भिडियो मंगलबार बिहानबाटै चर्चामा छ। संञ्चारमाध्यमले यसलाई विभिन्न शीर्षकमा समाचार बनाइरहेका छन्।

राहुल काठमाडौंको क्लब पुगेको भिडियोले भारतमा भने ‘हंगामा मच्चाएको’ छ। भारतमा सत्ता सम्हालिरहेको दल भारतीय जनता पार्टी (भाजपा)ले राहुलको भिडियोलाई मसला बनाएको छ।

भाजपाको सूचना तथा प्रविधि विभागका प्रमुख एवम् पश्चिम बंगालका पार्टी इञ्चार्ज अमित माल्भियले मुम्बई तनावमा रहेको बेला राहुलले क्लबमा समय बिताइरहेको तर्क गरेका छन्। आफ्नो पार्टी (कांग्रेस) विभाजित भइरहेको बेला राहुल भने मोजमस्तीमा रहेको भन्दै माल्भियले उनप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

‘मुम्बईमा लुट र कब्जा चलिरहेको बेला राहुल रात्रिक्लबमा मस्ती गरिहेका छन्,’ माल्भियले लेखेका छन्, ‘उनी आफ्नो पार्टीमा फुट चलिरहेको बेला रात्रिक्लबमा रमाइरहेको देखिएको छ।’

माल्भियले यस्तो ट्विट गरेसँगै भाजपाका नेता तथा कार्यकर्ताहरुले राहुललाई व्यंग्य गरिरहेका छन्। नेपालमा राहुलले उत्सव मनाउँदा उता भारतमै रहेका भाजपाका नेता तथा कार्यकर्ताहरु हल्लिएका छन्।

गान्धी सोमबार दिउँसो नेपाल आइपुगेका थिए। उनी आफ्नी साथी बर्माका लागि पूर्व नेपाली राजदूत भीम उदासकी छोरी सुम्निमाको विवाह समारोहमा सरिक हुन नेपाल आएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*