निजगढ नगरमा राप्रपाले जिते खानेपानी निःशुल्क,कृषिमा आधुनीकरण
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजगढ नगरपालिकामा विजयी भए, निःशुल्क १० हाजार लिटर खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ ।
निजगढलाई समृद्ध नगरीको रुपमा विकास गर्ने घोषणासहित निर्वाचनमा होमिएको राप्रपाले यस्तो प्रतिबद्धता जनाएको हो । राप्रपाबाट मेयरको उम्मेदवार बनेकी सावित्री भारतीले नगरको सम्पूर्ण क्षेत्रमा सरसफाई तथा खानेपानीको स्तरउन्नती गर्दै १० हजार लिटर निःशुल्क खानेपानीको उपलब्ध गराउने बताइन् ।
‘हामी निर्वाचित भएपश्चात् नगरभर दश हजार लिटरसम्म खानेपानी निःशुल्क वितरण गर्नेछौं । सफा नगर बनाउने योजना हाम्रो छ ।’,उनले भनिन् ।
कृषिमा आधुनीकरण तथा स्तरउन्नति गरी नगरलाई कृषिमा आत्मनिर्भर बनाउने योजना रहेको राप्रपाबाट उपमेयरका उम्मेदवार बासुदेव तिमल्सिनाले बताए । ‘नगरलाई पुर्ण रुपमा सिँचाईकरण गर्छाैं । राप्रपाले निःशुल्क स्वाथ्य बीमा उपचार, १२ कक्षासम्म निःशुल्क शिक्षा, फोहोरमैला व्यवस्थापन र जैविक मल उत्पादन गर्नेछौं ।’ तिमल्सिनाले भने, ‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं ।’
उनले निजगढ नगरमा भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता अपनाइनेसमेत बताए ।







