मनहरी–५ मा एमालेको घरदैलो
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारले पनि आफ्नो चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ मनहरीका वडा वडामा घरदैलो गरिरहेका छन् ।
सोमबार (आज) उम्मेदवारहरुले मनहरी गाउँपालिका वडा नं ५ मा घरदैलो सम्पन्न गरेका छन् । अध्यक्ष उम्मेदवार उप्रेती, उपाध्यक्ष उम्मेदवार थिङ, ५ नं वडाका अध्यक्षका उम्मेदवार किशोर बर्तौला, वडा सदस्य पदका उम्मेदवारहरु मोहनलाल थिङ, गीता कुमारी मुक्तान, सुनिता थिङ र राममाया नेपालीसहित एमालेका नेता कार्यकर्ताहरुले वडाका जनताको घरघरमा पुगी मत अपिल गरेका हुन् । अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी कामहरु सम्पन्न गर्ने बाचासहित अध्यक्ष उम्मेदवार उप्रेतीले मतदातासँग मत मागेका हुन् ।
उम्मेदवारहरुले वडाको विकास, गाउँपालिकालाई समृद्ध बनाउने सपना एमालेको सरकार आए मात्रै पूरा हुने बताए । उम्मेदवारहरुले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुसँग आर्शिवाद लिएका छन् । वडा नं ५ स्थित किरणचोकका १ सय वर्षीय वृद्ध तेज प्रसाद ढुंगानाको घरमा पुगी उम्मेदवारहरुले आशिर्वाद लिएका हुन् । वडाका सबै ज्येष्ठ नागरिक समूहसँग उम्मेदवारको टोलीले आर्शिवाद ग्रहण गरेको थियो ।
वृद्धवृद्धाको आर्शिवाद भएकै कारण नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय पार्टी बनेको अध्यक्ष उम्मेदवार उप्रेतीले बताए ।







