राप्रपाका प्रभावशाली नेता एमाले प्रवेश गरेसँगै मकवानपुरगढीमा हलचल

अखबार हब
२०७९ बैशाख १८, आईतवार १९:४३

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खिलप्रसाद चौलागाइैं नेकपा एमाले प्रवेश गरेसँगै मकवानपुरगढीमा हलचल मच्यिएको छ । गत निर्वाचनमा राप्रपा पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रही ९ सय ५० मत ल्याएका चौलागाईं आज नेकपा एमाले प्रवेश गरेका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको संघारमा राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्ष रहेका चौलागाईं आइतबार हेटौंडामा भएको आमसभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गरेका हुन् ।

उनीसँगै राप्रपा नेता कृष्णबहादुर विडारी, कृष्ण बञ्जारा, भूमिनन्द तिमल्सिनालगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका हुन् । चौलागाईं झण्डै ४ दशकदेखि सक्रिय राजनीतिमा छन् ।

मकवानपुरगढीमा चौलागाईंलाई इमान्दार नेताका रुपमा लिइन्छ । राप्रपाको सानो संगठन हुँदापनि उनले गत निर्वाचनमा ल्याएको मतले धेरैलाई आश्चर्यमा पारेको थियो ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई निर्वाचनमा एक्लै होमिएको एमालेसँग प्रतिस्पर्धा गर्न ‘फलामको चिउरा’ चपाए जस्तै भएको बेला चौलागाईंको एमाले प्रवेशले अर्थ राख्ने नेताहरु बताउँछन् ।

मकवानपुरगढीमा राप्रपाका प्रभावशाली नेता चौलागाईं, विडारी, बञ्जारासहित दर्जनौं कार्यकर्ताले एमाले रोजेपछि नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बिदुर हुमागाईं र उपाध्यक्ष उम्मेदवार सन्तु थिङ जित नजिक पुगेको एमाले गाउँ कमिटी सहसचिव चन्द्र योञ्जनले जानकारी दिए ।

कार्यक्रममा मकवानपुरगढीबाट कांग्रेस र माओवादी पार्टी परित्याग गरी ५० जना भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । आमसभामा जिल्लाभरबाट करिब ७ सय जना एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिए ।

जनताको पक्षमा काम गर्न एमाले रोजेको हुँः चौलागाईं
खिल प्रसाद चौलागाईंले जनहितको काम गर्ने पार्टी एमाले भएकोले आफू प्रवेश गरेको बताएका छन् । करिब २० हजार जनसमुदाय उपस्थित आमसभालाई सम्बोधन गर्दै चौलागाईंले एमाले नै विकासको पहरेदार भएको बताए ।

राप्रपा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको उनको भनाई छ । ‘म काम गर्नुपर्ने मान्छे, सक्रिय रहनुपर्ने मान्छे । म त सक्रिय भएर जनहितको काम गर्न रुचाउने मान्छे, पछिल्लो समय आफु निष्कृय भएको हो कि भन्ने अनुभूति हुँदैगयो र एमाले प्रवेश गरेँ ।,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*